• २०८१ बैशाख १५ शनिबार

हुम्लाका विद्यालयमा हिउँदे बिदा

kharibot

प्रतिनिधि तस्बीर

सिमकोट (हुम्ला) । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो ।  

जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । बन्द भएका विद्यालय अब आगामी फागुन २ गतेदेखि  मात्रै सञ्चालनमा आउने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख भीमराज खत्रीले बताए । नियमानुसार हिमाली जिल्लाका विद्यालयमा हिउँदयाममा अत्यधिक जाडो हुने भएकाले वार्षिक परीक्षा सकेर पुस–माघमा बिदा दिने चलन छ । तर यस वर्ष ढिलागरी शैक्षिकसत्र सुरु भएकाले एक महिनामात्रै बिदा दिइएको उनले बताए । 

जिल्लाभरि एक सय ५१ विद्यालयमा पठनपाठन बन्द भएको छ । हुम्लामा एक सय ४६ सामुदायिक, एउटा धार्मिक र चार संस्थागत विद्यालय छन् । जिल्लाका सात गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १६, सिमकोटमा २३, खार्पुनाथमा १७, सर्केगाडमा ३२, चङ्खेलीमा २२, अदानचुलीमा १९ र ताँजाकोटमा १६ विद्यालय छन् ।

एकाइका निमित्त प्रमुख  खत्रीका अनुसार हिमालपारिको लिमीका दुई सामुदायिक विद्यालय गत कात्तिक अन्तिममै बन्द भएका थिए । हल्जी र जाङ्गगाउँका विद्यालय बन्द भएका हुन् । तीन गाउँ रहेको लिमीमा प्रत्येक गाउँमा एक–एक आधारभूत विद्यालय छन् । जिल्लामा यस वर्ष अत्यधिक जाडो बढे पनि हिमपात भने हालसम्म भएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै