• २०८१ बैशाख १६ आइतबार

निमित्त प्रमुखकाभरमा लमजुङका सरकारी कार्यालय

kharibot

लमजुङ।  गण्डकी प्रदेशअन्तर्गत यस पहाडी जिल्लामा आधादर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । 

कार्यालय प्रमुख नहुँदा विगत लामो समयदेखि जिल्ला कारागार, डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पूर्वाधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र जिल्ला मालपोत कार्यालय निमित्त प्रमुखकाभरमा चल्दै आएको हो । 

यहाँ तीन वर्षभन्दा बढीदेखि सरकारले दरबन्दीअनुसारका कर्मचारी नपठाउँदा कार्यालय प्रमुख पद रिक्त हुँदै आएकाले कार्यसम्पादन र सेवा प्रवाहको स्तर सुधारमा समस्या हुने गरेको छ । 

कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेको सेवाग्राही ईश्वरराज सेढाईंले बताए ।

उनले प्रमुखको छिटोछरितो र सहजरूपमा सेवा हुन नसक्नाका साथै अन्य कर्मचारीले कार्यभार सम्हाल्दा सो कर्मचारीको ठाउँ खाली भएर कामको चापसमेत बढी हुने गरेको उल्लेख गरे । जिल्ला मालपोतको निमित्त प्रमुखमा ईश्वरकमल श्रेष्ठलाई तोकिएको छ । 

त्यस्तै कारागारमा कमलापति अधिकारी, पूर्वाधार विकास कार्यालयमा विवेक सिग्देल, डिभिजन वनमा सन्तोष खनाल, जिल्ला आयुर्वेदमा सावित्री न्यौपाने, भेटेरिनरीमा डा सुनील न्यौपाने र जलस्रोतमा सागर भट्टराई निमित्त प्रमुखको जिम्मेवारीमा छन् ।  

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्वीकृत दरबन्दी संरचनाअनुसार जनशक्ति पूर्ति हुन नसक्दा दरबन्दीभन्दा तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख बनाउनुपर्ने बाध्यता रहेको बताए । उनले भने, “दरबन्दीअनुसारको प्रमुख र अन्य जनशक्ति भएमा दैनिक सेवा प्रवाहमा सहज हुन्छ ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै