• २०८१ बैशाख १६ आइतबार

लमजुङमा कर्मचारी अभावले अदालतको सेवा प्रवाहमा समस्या

kharibot

लमजुङ। बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला अदालतमा दरबन्दीअनुसार कर्मचारी अभावमा दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

दरबन्दीअनुसार ३० कर्मचारी हुनुपर्ने सो अदालतमा २० कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको हो । 

जिल्ला अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार विभिन्न पदका १० कर्मचारी एक वर्षदेखि छैनन् । डिठ्ठा र तामेलदार पदमा छ–छ जनाको दरबन्दी भए पनि हाल तीन–तीन जनामात्र छन् । पाँच जनाको दरबन्दी रहेको नायबसुब्बामा हाल तीनमात्र छन् भने अन्य एक कर्मचारी छैनन् । 

केही महिनाअघिसम्म पाँच नायबसुब्बा रहेपनि दुई जनालाई र अर्का एक कम्प्युटर अपरेटरलाई पनि सर्वोच्च अदालतमा तानेपछि ती पद रिक्त रहेका छन् । 

अर्का एक लेखापाल पोखरा सरुवा भएकाले सो पद पनि खाली छ । 

दरबन्दीअनुसार कर्मचारी नहुँदा ४ बजे कार्यालय बन्द हुने भए पनि बेलुका ६ बजेसम्म पनि बसेर काम गर्नुपर्ने, ठगी मुद्दा धेरै भएकाले हेर्न समस्या भएको, तत्काल सक्नुपर्ने काममा ढिलाइ भएको र मुद्दा फैसलामा पनि ढिलाइ भएको उनको भनाइ थियो । 

कामको भार बढेकाले आजको काम भोलि र भोलिको काम पर्सि गर्नुपर्दा सेवा प्रवाहमा समस्या भएकाले सर्वोच्च अदालत र लोकसेवा आयोगको कार्यालयमा अवश्यक कर्मचारी उपलब्ध गराउन पत्र पठाए पनि कुनै सम्बोधन नभएको श्रेस्तेदार पौडेलले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै