• २०८१ बैशाख १६ आइतबार

गोरखा दरबारबाट एकीकरण पदयात्रा

kharibot

गोरखा । नेपाल एकीकरण क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाले आजदेखि गोरखाबाट एकीकरण पदयात्रा सुरु गर्ने भएको छ । ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन पदयात्रामा निस्किने सेनाको टोली काठमाडौँ हनुमान ढोका दरबार पुग्नेगरी आजदेखि पदयात्रा शुरु भएको हो ।

नेपाली सेनाले नेपाल एकीकरण गर्दा प्रयोग भएका तत्कालीन ऐतिहासिक पदमार्गको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारका लागि गोरखा दरबारस्थित हनुमान भञ्ज्याङ चौताराबाट पदयात्राको थालनी गर्न लागेको उनले बताए । पदयात्रामा निस्कने सेनाको टोली गोरखाबाट धादिङ, नुवाकोटहुँदै काठमाडौँसम्म पुगेर पदयात्रा समापन हुने प्रमुख सेनानी क्षत्रीको भनाइ छ ।

सेनाको टोलीले नेपालको राष्ट्रिय झण्डा र टर्चलाइट लिएर पदयात्रामा निस्केको छ । नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले खडा गरेको नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण र सवुज गणको झण्डासमेत बोकेर नेपाली सेनाले पदयात्रा गर्नेछ ।

गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा सेनाले पदयात्रा थालनी गर्न लागेको प्रमुख सेनानी क्षत्रीले बताए  । नेपाली सेनाका अधिकृतको नेतृत्वमा ३० जनाको टोली पदयात्रामा रहने उनले जानकारी दिए । पदयात्रामा निस्कने सेनाको टोली पृथ्वीनारायण शाह नेपाल एकीकरणको आरम्भ गर्दा हिँडेको पदमार्ग हुदै पुस २६ गते काठमाडौँसम्म पुग्नेछ ।

गोरखाबाट निस्किएको टोलीले धादिङको सिमानामा पुगेर धादिङस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको झण्डा, टर्च हस्तान्तरण गर्नेछन् भने धादिङको टोलीले नुवाकोटस्थित सेनाको टोलीलाई झण्डा र टर्चलाइट हस्तान्तरण गर्नेछ । त्यस्तै नुवाकोटको टोलीले काठमाडौँको टोलीलार्ई झण्डा र टर्चलाइट हस्तान्तरण गर्ने उनले बताए ।

काठमाडौँको टोली पुस २७ गतेका दिन हनुमानढोका दरबारमा हुने पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा सहभागी भएपछि पदयात्रा समापन हुने प्रमुख सेनानी क्षत्रीले जानकारी दिए । नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बाटोलाई नेपाली सेनाले विगत पाँच वर्षदेखि एकीकरण पदमार्गका रुपमा विकास गर्दै प्रचारप्रसारका लागि पदयात्रा गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै