• २०८१ बैशाख २३ आइतबार

निकुञ्जभित्रका बस्तीमा जनावरको त्रास

kharibot

तुलसीपुर (दाङ)।   बाँके राष्ट्रिय निकुञ्जभित्रका दाङका बस्तीमा जङ्गली जनावरको सधैँ त्रास हुने गरेको छ । निकुञ्जको बीच भागमा बस्ती हुँदा आफूहरुले लगाएको अन्नबाली नष्ट गर्ने गरेको बबई गाउँपालिका–१ सिमलकुनाका टेकबहादुर बुढाले बताए ।  

“निकुञ्जको वरिपरि बस्ती छ, हामीले लगाएको बालीनाली जनावरले सखाप पार्ने  गरेका छन्”,उनले भने, “यसतर्फ सरकारको ध्यान जानुपर्छ ।” प्रभावित क्षेत्रमा जालीको व्यवस्थापन भए जनावरले सताउने समस्या न्यून हुने बुढाको भनाइ छ । 

बबई गाउँपालिका–१ बञ्चरे, क्युरेनी, गौजे, सिमलकुना, जिला, मलै, कप्तानेलगायतका बस्ती राष्ट्रिय निकुञ्जका बीचमा पर्छन् । यी बस्तीमा बर्सेनि जनावरले सताउने गरेको स्थानीय शोभा पुनले बताइन् ।

यी बस्ती दाङका विकटमध्येका बस्ती हुन् । जहाँ अहिलेसम्म बिजुलि पुग्न सकेको छैन । बीचबीचमा पर्ने खोलामा पुल नहुँदा यातायातका साधन पनि सहजै आवतजावत गर्न सक्ने अवस्था छैन ।

खानेपानीको उस्तै समस्या छ । नजिकै बबई नदी बग्ने भए पनि बिजुली नहुँदा त्यहाँका नागरिकले सिँचाइको सुविधा पाउन सकेका छैनन् । 

नदी आसपासका बस्तीमा तटबन्ध नहुँदा स्थानीयमा त्रास छ । “टावर नहुँदा फोनले पनि राम्रोसँग काम गर्दैन । उपचारका लागि हापुरे बजार वा तुलसीपुर पुग्नुपर्छ”, पुनले भनिन् ।  

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आर्थिक वर्षमा ती बस्तीमा पुग्न  बबई नदीमा पुल निर्माणको काम अघि बढाइएको बताए ।

पुरन्धारा झरना हुँदै सिमलकुना, जिलासम्म पुग्ने सडक स्तरोन्नतिका लागि रु एक करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै