• २०८१ बैशाख १६ आइतबार

दलित समुदायको अधिकारका लागि कञ्चनपुरमा दबाबमूलक अभियान

kharibot

कञ्चनपुर।  संविधानमा भएका दलितसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन गराउनका लागि कञ्चनपुरमा दबाबमूलक अभियान सञ्चालन गरिएको छ । ‘हामी हाम्रा लागि पटक–पटक लड्यौँ, अरुका लागि अब उठौँ लडौँ’ भन्ने कञ्चनपुर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको छ । 

निर्णायक तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि जिल्लाका नौवटै स्थानीय तहमा अभियान सञ्चालन गरिएको दलित अगुवा शिवी लुहारले बताए । “अभियानअन्तर्गत नौवटै स्थानीय तहमा समिति गठनको कार्य अगाडि बढाएका छौँ”, उनले भने, “पालिकास्तरमा समिति गठनको कार्य पूरा भएपछि जिल्ला समिति र प्रदेशस्तरीय समिति गठन गर्छौं ।”

 उनका अनुसार पालिकास्तरमा गठन भएका समितिले दलित समुदायको हकअधिकारका लागि जागरण ल्याउन बैठक, छलफल, अन्तक्र्रियासँगै दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने छन् । पालिकामा गठन हुने उपभोक्ता समिति, विकास निर्माणसम्बन्धीका समिति, विषयगत समिति, रोजगारीलगायतमा क्षेत्रमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउनका लागि समितिले पैरवी गर्ने बताइएको छ ।

“अभियानअन्तर्गत गठन हुने समिति विशुद्धरुपमा गैरराजनीतिक सङ्गठनका रुपमा रहने छ”, दलित अधिकारकर्मी राजुराम भुलले भने, “दलित समुदायका हकअधिकारका लागि लडने छ ।” आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गरी परिचालन गर्ने, दलित हकअधिकार तथा जातीय विभेद अन्त्यका लागि निरन्तर पैरवी गर्न पालिकास्तरमा गठन हुने समितिले भूमिका खेल्ने उनले उल्लेख गरे । 

समितिले संविधानमा भएका दलितसम्बन्धी व्यवस्थाका लागि पैरवी गरी अधिकार स्थापना गर्ने, संविधानको धारा २४, ३६ र ४० मा दलितसम्बन्धी व्यवस्था लागू गर्न निरन्तर वकालत गर्ने कार्यसँगै निःशुल्क उच्च शिक्षा, प्राविधिक शिक्षामा दलित समुदायका विद्यार्थीको पहुँच अभिवृद्धि गर्नका लागि वकालत गर्ने अधिकारकर्मी भुलको भनाइ रहेको छ । 

स्थानीय तहमा रहेका दलित जनप्रतिनिधिको छुट्टै समिति गठन गरी स्रोतमा दाबी गरी आयस्रोत वृद्धि गर्ने, स्थानीय तहको हरेक निकायमा दलित समुदायको निर्णायक प्रतिनिधित्व गराउने र अशक्त दलित समुदायलाई निःशुल्क उपचारका लागि पहल गर्ने बताइएको छ ।

अभियानअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा अनिता नेपालीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । अन्य पालिकामा क्रमशः समिति गठन गर्दै दलित समुदायलाई सङ्गठित गर्दै लैजाने कार्यक्रम अगाडि बढाइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै