• २०८१ बैशाख १९ बुधबार

सुन्तलाको मूल्य निर्धारण

kharibot

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् । 

बेनी–४ का वडा सदस्य सन्दिप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम रु ८० कायम गरिएको छ । यसअघि यहाँ गत मङ्सिरमा सुन्तला नपाक्दै बिक्री गर्न थालिएको थियो । “किसानले ब्यापारीले जति भन्यो त्यति मूल्यमै सुन्तला बेच्ने गरेका थिए,” उनले भने । 

म्याग्दीका अन्य ठाउँका किसानले भने ब्यापारीले भनेको मूल्यमै सुन्तला बिक्री गर्ने गरेका छन् । बास्कुनामा जिल्लामै पहिलो पटक सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको हो । गत वर्ष यहाँ सुन्तला प्रतिकिलो रु ६५ देखि रु ७५ मा बिक्री भएको थियो । 

व्यापारीले सुन्तला नटिप्दै अगाडी नै पैसा दिएर खरिद गरिसकेका किसान भीम थापाले बताए । यहाँको सुन्तला पोखरा, चितवन, काठमाडौँलगायत ठाउँमा बिक्रीका लागि लग्ने गरिएको उनले बताए ।

आगामी सातादेखि सुन्तला टिपेर बजार पठाउने तयारी गरिएको छ । बास्कुना, सुर्केमेला र थामडाँडाका चालीस परिवारले आठ हेक्टर जग्गामा सुन्तलाखेती गरेका छन् । पछिल्लो एक वर्षमा एक हजार नयाँ बिरुवा थपिएका छन् । गत वर्ष तीन वटा गाउँबाट रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री  भएको खत्रीले बताए ।  

परम्परागत खाद्यबालीको विकल्पमा व्यावसायिक सुन्तला खेतीबाट जीवनस्तरमा परिवर्तन आएको छ । यहाँका बासिन्दाले धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तला रोप्न थालेका छन् । वार्षिक दश मुरी धान फल्ने खेतमा चार सय सुन्तलाका बिरुवा रोपेको बास्कुनाकी तिलकुमारी हुमेनले बताइन् । गत वर्ष रु सात लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । 

“छोरा विदेशिए, छोरीको बिहे भएपछि बाँझिएको खेतमा झाडी फाँडेर सुन बेचेर सुन्तलाका बिरुवा रोपेँ”,उनले भनिन । बास्कुना गाउँभरि सुन्तला खेती गरिएको छ । कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झयाङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने पलास्टिकको थैलीलगायतका सामग्री सहयोग गरेको केन्द्रले जनाएको छ । 

प्रदेश सरकारमार्फत दुई वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण गरिएको छ । बेनी–थामडाँडा–बरंजा सडक स्तरोन्नति नहुँदा भने सुन्तला बिक्री गर्न बजार लैजान समस्या भएको स्थानीय भीम गुरुङले गुनासो गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै