• २०८१ बैशाख १८ मंगलबार

ताप्लेजुङमा पुसे महोत्सव

kharibot

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङमा आजदेखि पुसे स्वर्ण महोत्सव आरम्भ भएको छ । मेरिङदेन र आठराईत्रिवेणी गाउँपालिको सङ्गमस्थल दोभान बजारमा मेला सुरु भएको हो । 

मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवद्र्ध्न गर्ने उद्देश्यले दोभान स्पोर्टिङ क्लब तथा पुसे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सव यही पुस ५ गतेसम्म चल्नेछ । समितिका अध्यक्ष हेम सिरिङ चोङबाङका अनुसार ५० वर्षदेखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुसे मेलामा यसवर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ । 

प्रतियोगिताको विजेताले रु तीन लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेतालाई रु एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सेमिफाइनल प्रवेश गर्ने टोलीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष चोङबाङले जानकारी दिनुभयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट सर्भर, डिफेन्डर, ब्लकर, सटर, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिने छ । महोत्सवमा ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गरिएको छ । 

महोत्सव स्थल वरपर रहेका फुङफुङगे झरना, गुराँसे पोखरी, तोक्पेगोला, लोदेन क्षेत्रसहितका पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन गरिने अध्यक्ष चोङबाङले बताए । यसका साथै तमोर नदीमा र्‍याफ्टिङसमेत गर्न पाइने छ । 

महोत्सवबाट धान नाच, पालम र हाक्पारेसहित मौलिक महत्व बोकेका सांस्कृतिक सम्पदाका प्रवद्र्धनमासमेत सघाउ पुग्ने उहाँको भनाइ छ । मेला अवधिभरमा विभिन्न गायक तथा कलाकारको प्रस्तुती रहनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै