• २०८१ बैशाख २२ शनिबार

धोनीको ७ नम्बर जर्सी रिटायर्ड !

kharibot

काठमाडौँ । दुई पटकको विश्वकप विजेता भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीको ७ नम्बर जर्सी अब कुनै पनि भारतीय क्रिकेटरलाई उपलब्ध नहुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यो जर्सीलाई रिटायर्ड गर्ने निर्णय गरेको छ ।

धोनीले अन्तर्राष्ट्रिय सन्यास लिएको करिब ३ वर्षपछि बोर्डले यो निर्णय गरेको हो । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार बीसीसीआईले धोनीले आफ्नो करियरमा लगाएको टी-सर्टको नम्बरलाई रिटायर्ड  गर्ने निर्णय गरेको हो ।

धोनी भन्दा पहिले सचिन तेन्दुलकरको १० नम्बर जर्सीले पनि यो सम्मान पाएको थियो । सन् २०१७ मा सचिनको १० नम्बरको जर्सी पनि सदाका लागि हटाइएको थियो ।

धोनीले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनले सन् २०१४ मा नै टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । अब धोनीको ७ नम्बर जर्सी अरु कुनै पनि भारतीय क्रिकेटरलाई कहिले पनि नदिने बताइएको छ ।

अब टीम इन्डियाका खेलाडीहरू, विशेष गरी डेब्यु खेल्ने खेलाडीहरूलाई उनीहरूले तेन्दुलकर र धोनीसँग सम्बन्धित नम्बरहरू छनौट गर्न नसक्ने भएका छन् ।

झारखण्ड (तत्कालीन बिहार) को राँचीमा जन्मिएका धोनीले आफ्नो कप्तानीमा सन् २००७ मा टी–२० र २०११ मा एकदिवसीय विश्वकप जितेका थिए । उनले सन् २०१४ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

धोनीले ९० टेस्ट, ३५० एकदिवसीय र ९८ टी–२० खेलेका छन् । जसमा उनले टेस्टमा ४ हजार ८७६, एकदिवसीय खेलमा १० हजार ७७३ र टी-२० मा १ हजार ६१७ रन बनाएका छन् ।

हाल आइपिएल खेलिरहेका धोनीले हालसम्म १९० खेलमा ४ हजार ४३२ रन बनाएका छन् । उनको कप्तानीमा, चेन्नई सुपर किंग्सले अहिलेसम्म ५ पटक उपाधि जितेको छ । चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा आइपिएलको उपाधि जितेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै