• २०८१ बैशाख १५ शनिबार

मुलुक भ्रष्टाचारले बिग्रिएको हो- पूर्वप्रधानन्यायाधीश कार्की

kharibot

काठमाडौं । विकास र समृद्धिका अथाह सम्भावना भए पनि मुलुक भ्रष्टाचारले बिग्रिएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बताएकी छन् । ७५औं अन्तर्राष्ट्रिय मानवअधिकार दविसका अवसरमा आइतबार राजधानीमा आयोजित ‘लोकतन्त्रको प्राण: सुशासन र सद्भाव’ विषयको छलफलमा उनले नेताहरुलाई बाटो विराएको आरोप लगाइन् ।

‘मुलुकप्रति चिन्ता सबैलाई हुन्छ । जोसँग सोच्न सक्ने क्षमता छ, चिन्ता जरुर लाग्छ,’ उनले भनिन्, ‘तीन शीर्षस्थ नेताले १०-२० वर्षमा के गरे भन्ने अन्त कतै भएन भने पनि इतिहासमा हुनेछ ।’ जनतालाई आर्थिकरूपमा समृद्ध बनाउन राज्यले काम नगरेको दुखेसो उनले गरिन् । 

समाजमा सोझासीधा गरिखाने परिवारको सम्पत्ति हत्याउन पार्टी कार्यकर्ताकै समूह सक्रिय रहेको पाइने उनले बताइन । आफ्नै नाताका एक युवकको जग्गा एउटा संगठनले कब्जा गरेपछि उनलाई माओवादीको भनाउने एउटा समूहले फिर्ता दिलाइदिने नाउमा आर्थिक शोषण गरेको दृष्टान्त उनले दिइन ।

‘अदालत बाहिर पनि समानान्तर न्यायालय भित्रभित्रै चलेको छ । भित्रबाट काम गराइदिने बेग्लै हिसाबकिताब छ,’ उनले भनिन्, ‘राज्यले प्रत्येक व्यक्ति-नागरिक आर्थिक रुपबाट दह्रो होस् भन्ने सोच्नुपर्छ । सस्तो आवश्यक वस्तु सस्तो दिएर सागसब्जी, चिनी दिने गर्नुपर्छ । बचत गर्ने क्षमता बढाउनु पर्छ । पिछडिएको वर्ग जाति जनजातिका लागि कल्याणकारी योजना ल्याउनुपर्छ ।’ सरकारले त्यस्तो व्यवस्था गर्न ध्यान नै नदिएको उनले बताइन ।

स्थानीय तहहरुले खास प्रकारका योजनामा बजेट ल्याएर स्थानीय बासिन्दासँग घरलौरी पैसा उठाउने प्रवृत्ति खराब रहेको उनले औंल्याइन । एउटा परिवारको आर्थिक उपार्जन खानबस्न र सन्तान पढाउनमै सकिइरहेका बेला समाजमा उनीहरुको आयआर्जन बढाउने योजना पहिलो आवश्यकता हुने उनको मत थियो ।

मिटरब्याजसँगै समाजमा सोझासीधालाई फसाउने समूह घातक बनिरहेको उनले बताइन । त्यस्ता समूहलाई राजनीतिक संरक्षण हुँदा प्रहरी प्रशासनले सर्वसाधारणको पक्षधरता नलिएको देखिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । ‘आज गुन्डा मवाली पार्टीका मान्छे छन् । करोडौं छ उनीहरुसँग,’ उनले भनिन् ‘अराजकता यसरी बढ्दै गयो की कुनै दिन नेपालीका छाला काढेर बेच्लान् भन्ने डर भइसक्यो ।’

भ्रष्टाचारका विरुद्ध आवाज उठाउने समूहका नाइकेहरुलाई टिपेर सरकारले राजदूत लगायत विभिन्न पद दिने प्रवृत्ति पनि समाजको समृद्धिका लागि हितकर नभएको उनको भनाइ थियो । समृद्ध समाजका लागि जतिले पनि नपुग्ने आचरणमा परिवर्तन जरुरी भएको उनले बताइन । 

कार्यक्रममा सांसद अमरेशकुमार सिंह र रामकृष्ण बराल लगायतले पनि आफ्नो भनाइ राखेका थिए । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय