• २०८१ जेठ १ मंगलबार

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह

kharibot

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

दलित महिला केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा सांसदसँग अन्तरक्रिया’मा उनले मतदाताको आत्मसम्मानमा चोट पुग्ने गरी निर्वाचन प्रणाली र लोकतन्त्रविरोधी अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिए ।

“निर्वाचन प्रणाली र लोकतान्त्रिक प्रणालीविरुद्ध अभिव्यक्ति दिनु हुँदैन, जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले अभिव्यक्ति दिनु गलत हो”, प्रमुख आयुक्त थपलियाले भने । जनप्रतिनिधिले मुलुकको सार्वभौमसत्ता, लोकतन्त्रका लगायतका विषयमा गहनतापूर्वक विश्लेषण र छलफल गर्न आवश्यक रहेको पनि उनको भनाइ छ । 

प्रमुख आयुक्त थपलियाले संविधानले निर्दिष्ट गरे बमोजिम निर्वाचन व्यवस्थापन विधेयक तयार पारिएको बताए । प्रतिनिधिसभा तथा राष्ट्रियसभाका समिति, महिला सञ्जाल, कानुनविद्लगाय २५ वटा सरोकारवाला पक्षसँगको छलफल, प्रदेश तथा स्थानीय स्तरबाट लिखित सुझाव सङ्कलन गरी आयोगले विधेयक तयार पारेको उनको भनाइ छ । 

आयोगका उपसचिव लक्ष्मी शर्माले विधेयकमा संविधानको प्रावधान, अदालतको आदेश तथा कानुनी व्यवस्था समेटी विधेयक संशोधन एवं परिमार्जन गरी समसामयिक बनाइएको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै