• २०८१ कार्तिक ६ मंगलबार

दक्षिण कोरियामा कुकुरको मासु खान प्रतिबन्ध लगाउने कानुन बनाइदै

kharibot

सोल । दक्षिण कोरियामा कुकुरको मासु खान प्रतिबन्ध लगाइने भएको छ । सत्तारुढ दलका नीति प्रमुख यु इउई-दोङले यो घोषणा गरेका हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियामा कुकुरको मासु खाने विषयमा विश्वभर लामो समयदेखि विवाद चलिरहेको छ । पशु अधिकारवादी संघसंस्थाले पनि यसको विरोध गर्दै आएका छन् ।

पशु कल्याण संस्थानका अनुसार दक्षिण कोरियामा वर्षेनी २० लाख कुकुर मारिने गरेको छ । योसँगै हरेक वर्ष करिब १ लाख टन कुकुरको मासु खपत हुने गरेको छ । अहिले बिस्तारै कुकुर खानेको संख्या घट्दै गएको छ । सरकारले सन् २०२७ सम्ममा कुकुर खान पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसका लागि सरकारले यसै वर्ष विधेयक ल्याउने भएको छ ।

नीति प्रमुख दोङले भने– यस ऐनबाट व्यवसायमा घाटा हुने किसान, मासु व्यवसायी र अन्य व्यक्तिलाई सरकारले पूर्ण सहयोग गर्नेछ । दर्ता भएका किसान, रेस्टुरेन्ट कर्मचारी र यो मासु बेच्ने अन्यलाई क्षतिपूर्ति दिइनेछ ।

यसअघि पनि दक्षिण कोरियामा धेरै पटक कुकुरको मासु विरोधी विधेयक ल्याइएको छ । तर, यस व्यवसायमा संलग्न व्यक्तिहरुको विरोधका कारण पारित हुन सकेको थिएन । रोयटर्सका अनुसार नयाँ विधेयकमा ३ वर्षको अनुग्रह अवधि र आर्थिक सहायताको प्रावधान थपिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलकी पत्नी प्रथम महिला किम क्योन हेले पनि लामो समयदेखि कुकुरको मासु सेवनको विरोध गर्दै आएकी छन् । राष्ट्रपतिसँगै उनले धेरै आवारा कुकुर पनि पालेका छन् । अर्कोतर्फ पशु अधिकार समूहले यो निर्णयको स्वागत गरेको छ । ह्युमन सोसाइटी इन्टरनेशनलले यो अभियानमा काम गर्नेहरूका लागि यो सपना साकार भएको बताएको छ ।

दक्षिण कोरियाली सरकारी तथ्याङ्क अनुसार देशमा करिब ११५० कुकुर फार्म छन् । त्यहाँ लगभग १६०० रेस्टुरेन्टहरू छन् जहाँ कुकुरको मासु दिइन्छ । मासु लिनका लागि ३४ वटा बधशाला छन् भने करिब २१९ कम्पनीले कुकुरको मासु बिक्री गर्ने गरेका छन् ।

ग्यालप कोरियन पोलका अनुसार गत वर्ष करिब ६४ प्रतिशत मानिसहरूले कुकुरको मासु खाने विरोध गरेका थिए । २०१५  र २०२२ को बीचमा, यो मासु खानेको संख्यामा लगभग २० प्रतिशत को गिरावट आएको थियो ।

ह्युमन सोसाइटी इन्टरनेशनलका अनुसार दक्षिण कोरिया बाहेक चीन, फिलिपिन्स, थाइल्याण्ड, लाओस, भियतनाम, इन्डोनेसिया, कम्बोडिया र भारतको नागाल्याण्डमा पनि कुकुरको मासुको व्यापार हुने गरेको छ । जुलाई ४, २०२० मा, भारतको नागाल्याण्डका मुख्य सचिवले कुकुरको मासुको आयात-निर्यातमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै