• २०८१ बैशाख २१ शुक्रबार

चुरे क्षेत्रबाट सःमिलका सञ्चालक काठसहित पक्राउ

kharibot

सिरहा । चुरे क्षेत्रमा वन फडानी तथा तस्करीमा सिरहाका वनकर्मीको मिलोमतो रहेको पाइएको छ । यहाँको वन कर्मचारीसँग सेटिङ मिलाएर सःमिल संचालकहरू काठ तस्करी गरिरहेको पाइएको हो । 

सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनबाट रुख फडानी गरी वनकर्मीको सेटिङमा चुरे फेदका सहर बन्दिपुर, उतरवाहिनी, बस्तिपुर, मिर्चैया, घुर्मिघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका सःमिलहरूमा पुर्‍याउने गरेको स्थानीय बताउँछन् । 

प्रहरी र वन कर्मचारीले ठूलो परीमाणमा काठसहित एक व्यवसायीलाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको गौरव सःमिलबाट प्रतिबन्धित करम जातको तीन सय भन्दाबढी क्यूविक फिट गोलिया र चिरान काठसहित मिलका सञ्चालक श्याम साहलाई वन कर्मचारीले नियन्त्रणमा लिएको हो । 

मिलदेखि करिव ४ सय मिटर उत्तरबाट ईलाका प्रहरी कार्यालय गोलबजारको गस्ती टोलीले सानो ठूलोगरी १५ थान करिव एक सय क्यूविक फिट बराबर करम जातको काठ गोलिया लोड भएको ना. ३ त ९६१५ नम्बरको ट्याक्टर र चालक  गोलबजार २ का २५ वर्षिय दिपेन्द्र महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

विशेष सूचनाको आधारमा प्रहरीले काठ लोड गरिएको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर र चालक डिभिज वन कार्यालय सिरहा लहानलाई बुझाइएको छ।

सो काठ पनि गौरव सःमिलमै लैजान लागिएको बताइएको छ । प्रहरीले काठ नियन्त्रणमा लिएलगतै त्यहाँ पनि सञ्चलक साह पुगेका थिए । 

यता सव डिभिजन वन कार्यालयका चोहर्वाका प्रमुख सतनारायण यादवले सःमिल सञ्चालकसँग ४० हजार रकम लिएर काठ छोडेको सूचना बाहिरिएपछि डिभिजन वन कार्यालय लहानबाट आएको टोलीले चिरान र गोलियासहित २१० क्यूविक फिट काठ बरामद गरेको छ ।

वन कर्मचारीले सःमिलका सञ्चालक साहलाई पनि नियन्त्रणमा लिएको छ । साहलाई बुधबार नै जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको डिभिज वन कार्यालय सिरहा लहानका निमित्त प्रमुख सुजित कुमार मिश्रले जानकारी दिए । 

गएराती काठ सःमिलमा लगेको सूचना पाएपछि सञ्चारकर्मीले यसबारे वन कार्यालयमा सम्पर्क गरेसँगै यादवले रकम लिएर मिलाउने प्रयास गरेको कुरा सार्वजनिक भएको हो । वनकै एक कर्मचारीले खोजतलासको  क्रममा केही कर्मचारीको मिलेमत्तोमा काठ छोडेको सूचना दिएका थिए । काठ लालपुरको सामुदायिक वन र व्यक्तिको जमिनबाट कटान गरी ल्याएको बताइएको छ । 

करम जातको काठ मधेश प्रदेशमा कटान गर्न प्रतिबन्ध लगाइएको सब डिभिजन वन कार्यालयका कर्मचारी कासिन्द्र यादवले बताएको छ। सिरहाका विभिन्न सःमिलहरूमा वन कर्मचारी र प्रहरीकै मिलेमत्तोमा अवैध रुपमा विभिन्न जातका काठहरू आउने गरेको बताइन्छ ।

डिभिजन वन कार्यालयको मौन समर्थनका कारण चुरे क्षेत्रमा खैर, कर्मा, साल लगायत काँचो रुखको फडानी व्यापक छ । यहाँ काठ तस्करी संगठित बन्नुमा वन कार्यालयको मौन समर्थन रहेको स्थानीय बताउँछन् । काठ तस्करहरूले अहिले पनि  सिरहाको सामुदायिक वन र चुरेक्षेत्रबाट काठ तस्करीलाई दिनानुदिन व्यापक बनाउँदै लगेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै