• २०८१ बैशाख २१ शुक्रबार

रश्मिकाको डीपफेक भिडियो भाइरल, अमिताभले गरे कानुनी कारवाहीको माग

kharibot

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत बनाइएको भारतीय अभिनेत्री रश्मिका मन्डन्नाको नक्कली भिडियो अहिले भाइरल भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एउटी महिला लिफ्टमा प्रवेश गर्छिन्, जसको अनुहार ठ्याक्कै रश्मिका जस्तै छ । एआईको डिपफेक प्रविधिको सहयोगमा ती महिलाको अनुहार ठ्याक्कै रश्मिकाको जस्तै बनाइएको छ ।

यो भिडियो सार्वजनिक भएपछि बलिवुडका महानायक अमिताभ बच्चन रश्मिकाको समर्थनमा आएका छन् । उनले यस्तो भिडियो बनाउने दोषीलाई छिट्टै कानुनी कारबाही गर्न माग गरेका छन् । अमिताभसँगै उनका फ्यानपनि रश्मिकाको समर्थनमा उभिएका छन् ।

रश्मिका बाहेक धेरै व्यक्ति साइबर अपराधको सिकार भएका छन् । एआईको बढ्दो प्रयोगसँगै यस्ता घटनाहरू तीव्र रूपमा बढिरहेका छन्।

एएलटी न्यूजका पत्रकार अभिषेकले आफ्नो ट्विटर ह्यान्डलमा यो नक्कली भिडियो अपलोड गरेका थिए । यो भिडियोसँगै उनले क्याप्सनमा लेखेका छन्– 'भारतमा डिपफेकलाई कारबाही गर्न कानुनी कारबाही आवश्यक छ । सोशल मिडिया ह्यान्डलमा अभिनेत्री रश्मिका मन्डनाको यो भाइरल भिडियो तपाईंले देख्नु भएको होला, तर यो जारा पटेल नामकी महिलाको डीपफेक भिडियो हो ।'

मूल भिडियो जारा पटेल नामकी ब्रिटिश भारतीय युवतीको हो, जसको इन्स्टाग्राममा ४१५ हजार फलोअर्स छन् । यो भिडियो जाराले अक्टोबर ९ मा आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी हुन् ।

अभिषेकको यो पोस्टलाई रि-ट्वीट गर्दै अमिताभ बच्चनले लेखेका छन्- 'हो, यो कानुनी कोणबाट बलियो केस हो ।' अमिताभसँगै रश्मिकाका फ्यानहरूले पनि यो भिडियोमाथि कडा कारबाहीको माग गरिरहेका छन् । 

नक्कली सामग्री सिर्जना गर्ने कार्य नयाँ नभए पनि, डीपफेकले मेसिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्सबाट सशक्त प्रविधिहरू प्रयोग गरी भिजुअल र अडियो सामग्रीलाई हेरफेर गर्न वा उत्पन्न गर्न सक्छ, जुन भ्रम फैलाउन प्रयाप्त हुन्छ । 

रश्मिकाले आफ्नो बलिउड डेब्यू फिल्म गुडबायमा अमिताभसँग काम गरेकी थिइन् । रश्मिकाले सो फिल्ममा अमिताभको छोरीको भूमिका निभाएकी थिइन् ।  आगामी दिनमा रश्मिका रणवीरसँग फिल्म एनिमलमा देखिने छिन् । यो फिल्म डिसेम्बर १ मा रिलिज हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै