• २०८१ बैशाख १५ शनिबार

आज दशैंको सप्तमी: फूलपाती भित्र्याएर मनाइँदै

kharibot

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । 

नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद्हरु बताउछन् ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । 

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

दशैंको टीका साइत

यस वर्ष विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११; ०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११: २९ बजे घटस्थापना गर्ने साइत रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०: ३७ बजे देवी विसर्जनको साइत रहेको छ ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जानकरी दिएको छ । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ ।

केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ । नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् ।

शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

हनुमानढोकाको दशैँ घरमा विशेष पूजा गरिँदै

परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।

दशैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ । विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन । हनुमानढोकाको दशैँ घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ । यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।

सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति सरिक हुने

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा भोलि शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुनेभएका छन्  ।

बडादसैँको साताँै दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ ।

समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभाव सहभागी हुनेछन् । बडादसँैका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।

नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दसैँ बिदामा जान अनुमति दिने अभ्यास सेनामा छ । 

नेपालको स्वन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिबद्ध नेपाली सेना समावेशी चरित्रको प्रमुख सुरक्षा सङ्गठन हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै