• २०८१ बैशाख २३ आइतबार

दोस्रो चरणका तालिका सार्बजनिक, कस्तो छ फुटबल विश्वकपमा पुग्ने बाटो ?

kharibot

काठमाडौँ । नेपालले २०२६ मा हुने विश्वकप फुटबल छनौट अन्तर्गत दोस्रो चरणमा खेल्ने देशहरुको टुंगो लागेको छ ।

अखिल नेपाल फुटबल संघका अनुसार नेपाल समुह एचमा युएई, बहराइन र यमनसँग खेल्ने भएको छ । समुह चरणका यी खेलहरु होम र अवे आधारमा हुने छन् ।

दोस्रो चरणमा नेपालको खेल तालिका: 

विश्वकप फुटबल छनौटको दोस्रो चरणमा नेपालले पहिलो खेल युएईविरुद्ध नोभेम्बर १६ मा अवे खेल खेल्ने छ भने जुन ६ मा घरेलु मैदानमा खेल्ने छ । त्यस्तै बहराइनविरुद्ध २१ मार्चमा घरेलु मैदानमा खेल्ने छ भने २६ मार्चमा अवे खेल खेल्ने भएको छ । त्यसै गरि यमनसँग २१ नोभेम्बरमा घरेलु मैदानमा खेल्ने छ भने ११ जुनमा अवे खेल खेल्ने भएको छ ।

नेपालले विश्वकपको पहिलो चरणमा लाओसमाथि २-१ को समग्रमा जित हासिल गर्दै विश्वकप छनौटको दोस्रो चरणमा पुगेको हो ।

विश्वकप छनौटको बाटो: 

समुह चरणका ९ समुहमा ३६ देश रहेका छन् भने समुह विजेता र उपविजेता विश्वकप छनौटको तेस्रो चरणमा पुग्ने छन् । त्यसैगरी तेस्रो चरणमा पुग्ने १८ देशलाई ६-६ गरि तीन समुहमा विभाजन गरिने छ भने ति देशहरु आफ्नो समुहमा होम र अवेका आधारमा एक अर्कासँग खेल्ने छन् । तीन समुहबाट विजेता र उपविजेता टिम विश्वकपका लागि छनौट हुने छन् भने तिनै समुहका तेस्रो र चौथो हुने देश चौथो चरण खेल्न पाउने छन् ।

तेस्रो र चौथो हुने ६ देशलाई दुई समुहमा विभाजन गरेर एक अर्काविरुद्ध खेलाइने छ । यी खेलहरु न्युट्रल भेन्युमा हुने छन् । दुवै समुहका समुह विजेता विश्वकपमा छनौट हुने छन् । दुवै समुहका उपविजेताबीच पाँचौं चरणमा होम र अवे खेल खेलाएर विजेतालाई इन्टर कान्टिनेन्टल प्लेअफका लागि एशियाको प्रतिनिधित्व गर्न पठाइने छ ।

२०२६ को विश्वकपमा एशियाबाट ८ देश सिधै छनौट हुने छन् भने एक देशले इन्टर कान्टिनेन्टल प्लेअफमार्फत छनौटको अवसर पाउने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै