• २०८१ बैशाख १५ शनिबार

वीरेन्द्रनगरमा ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ सुरु 

kharibot

कर्णाली । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ उद्घाटन गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लागुऔषधविरुद्ध लालटिन अभियान’को उपप्रधामन्त्री खड्काले लालटिन बालेर उद्घाटन गरे । 

उपप्रधानमन्त्री खड्काले समाजमा विकराल रोगको रूपमा फैलिँदै गएको लागुऔषध दुव्र्यसनी रोक्न थालिएको अभियानमा सबै सरोकारवालालाई एकजुट हुन अनुरोध गरे । 

गत वैशाख १ गतेदेखि सुरु गरिएको ‘सुरक्षित कर्णाली विशेष अभियान’ र यसअन्तर्गत शुभारम्भ गरिएका कार्यक्रमका समग्र अभियान देशकै लागि रोलमोडल बनेका छन्”, उनले भने, “यसको नियन्त्रण तथा रोकथामका लागि हामी सबैको साझा सङ्कल्प आवश्यक छ । कर्णाली प्रदेशको यो अभियानले मुलुककै नेतृत्व गरिरहेको छ ।”

अपराधीले गर्ने व्यवसायलाई पूर्णरूपमा निरुत्साहित गर्न ‘लागुऔषधविरुद्ध लालटिन अभियान’को सघन कार्यान्वयन आवश्यक रहेको भन्दै रक्षामन्त्री खड्काले यसमा सबै सरोकारवालाहरूको साथ सहयोग आवश्यक रहेको जनाए । 

‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत बिहीबार ‘पीडित सहायता कार्यक्रम’समेत शुभारम्भ गरिएको जनाउँदै उनले लागुऔषध नियन्त्रणमा तीनै तहका सरकारहरूको सहकार्य आवश्यक भएको बताए । 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख नीलकण्ठ खनालले प्रदेश प्रहरीले थालेको अभियान यहाँका नागरिकहरूको सामाजिक सुरक्षा तथा समुचित भविष्य निर्माणका लागि भएको विचार व्यक्त गरे । उनले लागुऔषधको सबैभन्दा ठूलो समस्या प्रदेश राजधानी वीरेन्द्रनगरमा भएकाले प्रहरीले थालेको अभियानमा नगरपालिका साथ दिने बताए । 

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीको शान्ति सुरक्षालाई ध्यानमा राखेर थालिएको ‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत १४ कार्यक्षेत्र छुट्याएर १८ कार्यक्रम तय गरिएको जानकारी दिए । लागुऔषध अपराधमात्र नभई यो समाजको विकराल समस्या भएको भन्दै उहाँले नागरिकमैत्री प्रहरी व्यवहारलाई अनुभूति हुने गरी काम गर्न अभियान थालिएको बताए । 

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, सुर्खेत जिल्लास्थित सबै पालिकाका प्रमुख÷अध्यक्ष, प्रदेश सरकारका निमित्त प्रमुख सचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा, अधिकारवादी, युवा, विद्यार्थीलगायतको सहभागिता थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै