• २०८१ बैशाख १५ शनिबार

काठमाडौँमा भदौ अन्तिम सातादेखि अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने

kharibot

काठमाडौं । ११औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आगामी भदौको अन्तिम सातादेखि हुने भएको छ । नेपाल तेक्वान्दो संघले आइतबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलनमार्फत भदौ २७ देखि ३१ गतेसम्म अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने जनाएको हो ।

नेपालस्थित दक्षिण कोरियाको दूतावास र संघको आयोजनामा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन लागेको हो । यसअघिका संस्करण राष्ट्रियस्तरमा मात्र सीमित थियो । च्याम्पियनसिपमा भारत, बंगलादेश र नेपाल गरी तीन राष्ट्रका खेलाडीले खेल्नेछन् । नेपाली राष्ट्रिय तेक्वान्दो टोली चीनमा आयोजना हुने १९औं एसियाडको तयारीमा रहेकाले राष्ट्रिय टोलीबाहेक खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए ।

यस च्याम्पियनसिपमा ७११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार ७७८ सिनियर तथा जुनियर खेलाडी सहभागी हुने संघका उपाध्यक्ष चन्दले जनाए । पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) मा ३२ गरी कुल ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ती देशका खेलाडी पनि एसियाडको तयारीमा रहेकाले दोस्रो रोजाइका खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका लागि संघका उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । समितिअन्तर्गत १० उपसमिति छन् । प्रतियोगिताका लागि ६० निर्णायक, १५ प्राविधिक र ३५ स्वयंसेवक तय गरिएको संघले जनाएको छ । प्रतियोगिताका लागि करिब ३५ लाख लागत लाग्ने आयोजक जनाएको छ । त्यसमा कोरियाली दूतावासबाट करिब पाँच हजार अमेरिकी डलर र प्रतियोगिताका लागि खेलाडी दर्ताबाट करिब १७ लाख रुपैयाँ प्राप्त हुने संघका उपाध्यक्ष चन्दले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न बाँकी रकम भने संघले व्यवस्थापन गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै