• २०८१ बैशाख १५ शनिबार

रुसका सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध

kharibot

काठमाडौँ । रुसको डिजिटल विकास मन्त्रालयले सरकारी कर्मचारीलाई आइफोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार एप्पलका अन्य उत्पादनहरू जस्तै आइबुक, ट्याब्लेटको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ । यी यन्त्रहरूबाट कुनै पनि सरकारी काम गर्न नसकिने निर्देशन जारी गरिएको छ ।

रुसको फेडरल सेक्युरिटी सर्भिस एफएसबीका अनुसार अमेरिकाले यी यन्त्रहरूमार्फत उनीहरुको जासुसी गरिरहेको छ । २ महिना अघि एफएसबीले अमेरिकामा हजारौं आईफोन ह्याक भएको र त्यसमा अमेरिकी निगरानी प्रणाली रहेको दाबी गरेको थियो । एफएसबीले भनेको थियो- अमेरिकी ह्याकरहरूले जासुसी अभियानमा इजरायल, सिरिया, चीन र नेटो सदस्य राष्ट्रका कूटनीतिज्ञहरूलाई निशाना बनाएका थिए ।

यस बाहेक सोभियत संघको हिस्सा भएका देशहरूमा काम गर्ने धेरै स्थानीय रूसी नागरिक र कूटनीतिज्ञहरूको फोन पनि ह्याक गरिएको थियो । एफएसबीले भनेको थियो– अमेरिकाको विशेष सेवाले यो खुफिया अपरेशन गरिरहेको थियो । रुसी एजेन्सीले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र एप्पल कम्पनीबीच नजिकको सहकार्य रहेको पनि दाबी गरेको छ ।

तर, उनले एप्पल कम्पनीलाई यो जासुसीको बारेमा थाहा भएको कुनै प्रमाण भने दिएनन् । एकै समयमा, एफएसबीको आरोपलाई एप्पल कम्पनीले अस्वीकार गरेको छ। एप्पलले भनेको थियो- हामीले कुनै पनि देशको सरकारसँग मिलेर फोनमा छेडछाड गरेका छैनौँ र कहिले पनि गर्ने छैनौँ ।

क्यास्परस्की ल्याबले भन्यो– सन् २०१९ देखि जासुसी भइरहेको छ

अर्कोतर्फ, मस्कोस्थित क्यास्परस्की ल्याब कम्पनीले यस अपरेसनबाट आफ्ना धेरै कर्मचारीहरूको उपकरणमा सम्झौता भएको बताएको छ । क्यास्परस्कीले एक ब्लगमा भनेका छन्– जासुसीको प्रमाण पहिलो पटक २०१९ मा फेला परेको थियो र यो अहिलेसम्म जारी छ । तर, उनले यो साइबर आक्रमणको मुख्य लक्ष्य आफू नरहेको दाबी गरे ।
रुसी अधिकारीहरूले आईफोन प्रयोग नगर्न आदेश दिए

एफएसबीको रिपोर्टपछि रुसको विदेश मन्त्रालयले भनेको थियो– यसले अमेरिकामा बनेका आइफोन पूर्णरुपमा पारदर्शी छैनन् भन्ने प्रमाणित गर्छ । उनीहरुमाथि साइबर हमला गरेर ठूलो मात्रामा डाटा संकलन भइरहेको थियो । मन्त्रालयका अनुसार अमेरिकी गुप्तचर एजेन्सीले वर्षौंदेखि आईटी कम्पनीहरूलाई उनीहरूको जानकारी बिना इन्टरनेट प्रयोगकर्ताहरूको डाटा संकलन गर्न प्रयोग गर्दै आएको छ।

हार्वर्ड युनिभर्सिटीको बेल्फर सेन्टर साइबर २०२२ पावर इन्डेक्सका अनुसार साइबर पावरमा अमेरिका सबैभन्दा अगाडि छ । त्यसपछि चीन, रुस, बेलायत र अष्ट्रेलियाको नम्बर आउँछ । यसअघि, क्रेमलिनले रुसमा २०२४ को राष्ट्रपतीय निर्वाचनलाई ध्यानमा राख्दै अधिकारीहरूलाई आईफोन प्रयोग गर्न बन्द गर्न भनेको थियो । उनले यसमार्फत रुसमाथि अमेरिकी गुप्तचर निकायले नजर राखेको आशंका व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै