• २०८१ बैशाख १६ आइतबार

‘मर्निङवाक’ सँगै गुनासो सुन्दै- रेनु दाहाल 

kharibot

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ ।

जब उनि कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् ।

धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव पनि छैन । कार्यालयको कामसँगै भेटघाटको व्यवस्थापन गर्दा सबैलाई भेट्ने अवसर मिल्दैन ।

दाहालका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार एक दिनमा चार सयभन्दा बढी प्रमुखलाई भेट्न महानगर आइपुग्छन् । धेरैको भेट्ने चाहनाका कारण सबैलाई मन बुझाउन नसकिएको उनि स्वीकार गर्छिन् ।

यिनै गुनासा चिर्दै पछिल्ला दिनमा प्रमुख दाहालको बिहानीको हिँडाइ नगरका टोलटोलमा हुने गरेको छ । बिहान ५ बजे घरबाट गाडीमा निस्किएर एउटा वडामा पुगेपछि उनको हिँडाइसँगै भेटघाट सुरु हुन्छ ।

टोलटोलमा उनि बिहानी हिँडाइ (मर्निङ वाक) गर्छिन् । स्थानीयसँग भेट गर्छिन् । गुनासा एवं सुझाव सुन्छिन् र चालु आयोजनाको अनुगमन गर्छिन् । कतिपय स्थानीय उनिसँगै हिड्ने गर्छन् । यसरी हिँड्दा आफ्ना कुरा खुलेर राख्ने अवसर पनि मिलेको छ । प्रमुखसँग आफ्नै टोल छिमेकमा तस्वीर खिच्नेको पनि कमी हुँदैन । हालसम्म महानगरपालिकाका वडा नम्बर १, ६, १०, ११, १६, २२ र २३ का टोलटोलमा उनि पुगिसकेकी छन् ।

क्रमशः सबै वडामा पुग्ने उनको योजना छ । नियमित बिहानीको हिँडाइसँगै रहने दाहालका छिमेकी टिकाराम पोख्रेलका अनुसार हिँडाइ  सँगसँगै नगरवासीका गुनासो, सुझाव सुन्ने र जवाफ दिने अवसर दाहाललाई मिलेको छ । भेट्न महानगर आउन नपर्ने गरी दाहालले धेरैका समस्या सडकमा नै समाधान गर्ने गरेको उनले जानकारी दिए । स्थानीयसँगै घुलमिल हुने, बिहानीको चिया पिउने र फर्कने दाहालको दैनिकी बनेको छ ।

भौतिक निर्माणका कामलाई अनुगमन गर्ने र अपुग एवं अधुरा भएका काम पूरा गर्न त्यहीबाट सम्बन्धित कर्मचारीलाई उनले निर्देशन दिने गरेका छन् । दाहालले भनिन्, “भेट्न पाइएन भन्ने नगरवासीको गुनासो मेट्न बिहानी हिँडाइमा टोल टोलमा पुग्ने गरेको छु ।” नगरवासीका गुनासा सुन्न, सुझाव लिन, उनिहरुसँग घुलमिल हुन, योजना हेर्न र नयाँ योजना बनाउन यसले आफूलाई सहयोग पुगेको उनले बताइन् ।

दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । त्यसो त उनि  नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य पनि रहेकी छन् । यसै कारणले महानगरपालिका मात्र नभएर पार्टीसँग सम्बन्धित व्यक्ति पनि उनलाई भेट्न आउने गरेका छन् ।

दाहालको आफ्नो दैनिकी निकै व्यस्थतामा बित्ने गर्दछ । बिहान उठेदेखि राती सुत्ने बेलासम्म उनि नगरवासीकै काममा व्यस्त हुने गर्छिन् । उनले भनिन्, “जब म निदाउँछु तब मात्र मैले आराम पाउँछु ।”

बिहान ब्युझिँदै गर्दा बज्ने फोनका घण्टी निदाउनु अघिसम्म बजिरहन्छन् । यो व्यस्तताका बावजुत नगरवासीलाई घरघरमा नै भेट्ने पछिल्लो दैनिकी उनको बनेको छ । बिहान ५ देखि बेलुका ८ बजेसम्मको समय उनले यस्तै कार्यका लागि छुट्याउँदै आएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै