• २०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट १९१ घरमा विद्युत

kharibot

ओखलढुङ्गा । ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो । 

ककनीमा रु छ करोड ४२ लाख ८८ हजार नौ सय ३३ को लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट आजदेखि विद्युत उत्पादन सुरु गरिएको छ । 

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मिनिग्रिड उद्घाटन गर्दै यस  मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशका विकट क्षेत्रमा पनि उज्यालो बनाउने अभियानमा सरकार जुटेको बताए । 

ककनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि विद्युतको समस्या रहेकाले सौर्य मिनिग्रिड आयोजना सञ्चालन गरिएको उनको भनाइ थियो ।

त्यस अवसरमा वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका सहायक निर्देशक डा लक्ष्मणप्रसाद घिमिरेले परियोजनाको विस्तृत विवरण प्रस्तुत गरे । 

उनले आँकलन गरेभन्दा निकै कम ऊर्जा खपत हुने देखिएकाले विद्युत उपभोक्तालाई ऊर्जाको उच्चतम् खपत गर्न लगाएर आर्थिकस्तर वृद्धि गर्न सुझाव दिए ।

ककनीमा विद्युत उपलब्ध गराएर एउटा महत्वपूर्ण अभिभारा पूरा गरिएको वडाध्यक्ष हितराज कार्कीले बताए । 

उज्यालो सुनकोशी अभियान थालेको स्थानीय सरकारले अघिल्लो कार्यकालमा रुद्र अधिकारीको नेतृत्वमा विद्युतीकरणको काम सुरु थियो ।

भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत् विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतीकरणको सम्भावना नहुने भएकाले वडा नं ९ का तत्कालीन वडाअध्यक्ष तथा ऊर्जा विकास उपसमितिका संयोजक झनककुमार कार्कीले सौर्य मिनिग्रिड स्थापनाको योजना बनाएर पहल गरेका थिए । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागत गरी कूल रु छ करोड ४२ लाख लाख ८८ हजार नौ सय ३३ को लागतमा मिनिग्रिड स्थापना गरिएको हो ।

मिनिग्रिडबाट ककनीका एक सय ९१ घरधुरीका साथै स्थानीय विद्यालय र स्वास्थ्य संस्थामा समेत विद्युत् जडान गरिएको छ । मिनिग्रिड आयोजना २०७९ मङ्सिरदेखि सुरु गरिएको थियो ।

आयोजनामा गाउँपालिकाले रु ६० लाख र हाउस वायरिङका लागि वडा नं–९ ले रु दुई लाख उपलब्ध गराएको थियो । मिनिग्रीटको सुविधा नपुगेको १७ घरलाई भने ५० वाटका दरले सोलार वितरण गरिएको छ । 

विद्युत् सुविधासँगै अन्य थुप्रै सम्भावनाका स्रोत पनि थपिएको स्थानीयवासी नरबहादुर सुनुवारले बताए । केही वर्षअघिसम्म विकास बजेट नै नपुग्ने ककनीमा सडक, विद्युत्, खानेपानी, स्वास्थ्य इकाइसहितका सेवा पुगेपछि छोटो समयमै सुगम बनेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै