• २०८१ बैशाख २३ आइतबार

आगामी शुक्रबारदेखि चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन हुने

kharibot

काठमाडौं । सरकारले नेपालीहरुको ठूलो चाडपर्व दशैँ र तिहारलाई लक्षित गर्दैै आगामी शुक्रबारदेखि झण्डै दुई महिनासम्म सहुलियत मूल्यको पसल सञ्चालन गर्ने भएको छ । आपूर्ति मन्त्रालयमा आइतबार आपूर्तिमन्त्रीको अध्यक्षतामा बसेको व्यवसायी सम्मिलित बैठकले आगामी १६ गतेदेखि कात्तिक ९ गतेसम्म सहुलियत मूल्यको पसल सञ्चालन गर्ने र त्यसको अनुगमन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयमा बसेको बैठकले दशैँ, तिहार र छठमा उपभोक्ताले चर्को मूल्य तिर्न नपरोस् भनी देशका विभिन्न स्थानमा सहुलियत दरको पसलसम्बन्धी ब्यानर राखी सुपथ मूल्य सञ्चालन गर्ने निर्णय गरेको हो ।

हरेक वर्ष सरकारले दशैँ, तिहार र छठलाई लक्षित गरी यस्तो पसल सञ्चालन गर्दै आएको छ । आापूर्ति मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा खाद्य वस्तुको सरल र सहज वितरण गरिने तथा बिक्रीवितरण गरिने वस्तुको तौल, शुद्धता, सरसफाइ र गुणस्तरको अनुगमन गर्ने निर्णय गरेको हो ।

बैठकमा आपूर्तिमन्त्री, आपूर्ति राज्यमन्त्री, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, दुग्ध विकास संस्थान, उपभोक्ता मञ्च, नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघलगायतका प्रतिनिधिको उपस्थिति थियो ।

साथै बैठकले माछा तथा मासु लगायत खाद्य वस्तुको बिक्रीवितरण गर्ने सबै व्यवसायीलाई उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय खाद्यवस्तु बिक्री गर्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै