• २०८१ बैशाख १५ शनिबार

सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गरेका छन् ।

भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले  कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उनले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पुर्याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गरेका हुन् ।

सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले अछामलगायत समग्र सुदूरपश्चिम क्षेत्रमा विकासमा एकताबद्ध भएर काम गरौँ भनी स्व रावलले भन्ने गरेको घटना स्मरण गरे । उनले भने, “रावलजीको अछामलाई वेग्लै जिल्लाका रूपमा स्थापित गराउन ठूलो योगदान छ, सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेकाले सबै मिलेर काम गरी अघि बढाउनुपर्छ भनी प्रेरित गरिरहनुभयो ।”

मुलुकमा लोकतन्त्रका लागि भएको राजनीतिक आन्दोलन र परिवर्तनमा उहाँले खेलेको भूमिका उच्च रहेको बताउँदै सभापति देउवाले देश र जनहितका लागि रावलले देखाएको बाटोमा अघि बढन सम्पूर्ण पार्टी कार्यकतालाई आह्वान गरे ।

पुस्तकका सम्पादक धनञ्जय तिमिल्सिना र वरिष्ठ पत्रकार एवं समालोचक पुरुषोत्तम दाहालले ताप्लेजुङदेखि डोटीसम्मका व्यक्तिले स्व रावलबारे लेखिएका पाठ्यसामग्री समेटिएको कृतिमा उहाँले राजनीतिक परिवर्तनका अतिरिक्त विद्यालय, बाटो जस्ता सामाजिक सुधारका माध्यमबाट पुर्याएको योगदानसमेत समेटिएको बताए । 

उनीहरूले लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तमा अडिग स्व रावल  लोकतन्त्र भनेको संस्कृति हो भन्ने दृष्टिकोणमा सुस्पष्ट रहेको धारणा व्यक्त गरे ।

लामो समयसम्म अछाम जिल्लामा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिकामा रही काम गरेका रावलको जन्म विसं १९८२ पुस २५ गते स्थानीय सात सय दरामा तथा निधन विसं २०६९ पुस ११ गते भएको हो ।  

तीन सय पृष्ठको पुस्तकमा एक साहसी एवं धर्यवान् व्यक्तित्व, भैरवसिंह रावल : लोकतन्त्रका...,  अन्तिम अन्तर्वार्ता,  मान्छे मरी जाँदो वासना रै जाँदो, एक हार्दिक व्यक्तित्वलगायत शीर्षकमा लेख, अनुभव र विचार तथा तीन वटा अन्तर्वार्ता समेटिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै