• २०८१ बैशाख १७ सोमबार

तेत्तीस वर्षदेखिको सीमा विवाद समाधान

kharibot

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुईवटा वडाका बासिन्दाहरुबीचको ३३ वर्षदेखिको सीमा विवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवा र २ भुरुङ्गतातोपानीका बासिन्दाबीच दुवै वडाको सीमा क्षेत्रमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद रहँदै आएको थियो ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, दोवाका वडाअध्यक्ष दिलीप गर्बुजा, भुरुङ्गका वडाअध्यक्ष ओम फगामी, जिसस सदस्य देव गर्बुजा, वडा सदस्य र दुवै वडाका प्रतिनिधिहरुको बैठकले विवादलाई सहमतिमा टुङ्ग्याएको हो । 

विसं २०४६/४७ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दा बसोबास गर्दै आएको सुनारीको बस्ती, जग्गा र लेकको चरन तथा वन क्षेत्र प्राविधिक त्रुटिका कारण भुरुङ्ग तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर दुवै गाउँका बासिन्दाबीच तीव्र विवाद रहेको थियो । 

सीमा विवादको विषयलाई लिएर असार ८ गते शुक्रबार दोवाका बासिन्दाले अन्नपूर्ण गाउँपालिकाको कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए । नक्सामा जे भए पनि भोगचलन गर्दै आएको सिमानाअनुसार नयाँ नक्सा तयार पार्न प्रक्रिया अघि बढाउने र सीमा क्षेत्रको जङ्गल दुवै गाउँका उपभोक्ताले आफूलाई जहाँ पायक पर्छ त्यही उपभोग गर्ने २०७४ साल कात्तिक १९ गतेको सहमति कार्यान्वयन गर्ने निर्णय भएको छ । 

सीमा विवादको विषयलाई लिएर भुरुङ्ग तातोपानीका पूर्वगाविस अध्यक्ष कुलवीर राम्जाली, वडाअध्यक्ष फगामी र पूर्ववडा सदस्य बुद्धि पुनमाथि दोवाका बासिन्दाले सामाजिक सञ्जाल र प्रदर्शनका क्रममा लगाएको आरोपको दोवाका बासिन्दाका तर्फदेखि क्षमायाचना मागिएको छ । 

नक्साको त्रुटि सच्याएर नयाँ बनाउन विशेष गाउँसभाबाट निर्णय गरेर सङ्घीय सरकारसँग प्रक्रिया अघि बढाउने र दुई वडाको विकास योजनाका लागि बजेट विनियोजनमा भूगोलका आधारमा नभएर हालकै अनुपातलाई आधार मान्ने सहमति पनि भएको भुरुङ्गका वडाअध्यक्ष फगामीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै