• २०८१ बैशाख १६ आइतबार

ओली र प्रचण्डबीच विहिबार मात्र एकता बारे दुई पटक छलफल

kharibot

काठमाडौँ । पार्टी एकीकरणका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विहिवार बिहान र दिउँसो गरी दुई पटक छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षबीचको छलफल सकारात्मक भएको ठानिए पनि ठोस सहमति बाहिर आएको छैन । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले उहाँहरुको छलफल सकारात्मक रहेको र आवश्यकतानुसार फेरि छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिएका छन् । 
दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुंगो लगाउन अध्यक्षहरुलाई जिम्मा दिएको थियो ।

एमाले र माओवादी केन्द्रले आगामी शनिबार मार्क्स जयन्तीको दिन पार्टी एकताको मिति घोषणा गर्ने तयारीका बीच दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

यस अघि बुधबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले सांगठनिक अवस्थाको रिपोर्ट अद्यावधिक गर्न निर्देशन दिएका थिए । प्रचण्डले बैठक पार्टी एकता छिट्टै हुने ब्रिफिङ गरेका थिए ।

अध्यक्ष प्रचण्ड र ओलीबीच केन्द्रीय समितिमा भागबन्डा र महाधिवेशन पछि पार्टीको नेतृत्वको सुनिश्चितताको विषयमा कुरा मिलन बाँकि रहेको बताइएको छ ।

माओवादी केन्द्रले समानताका आधारमा पार्टी एकता हुनुपर्ने भन्दै केन्द्रीय समितिमा ५०-५० प्रतिशत भागबन्डा हुनुपर्ने बताउदै आएको छ भने अध्यक्ष प्रचण्डले महाधिवेशन पछि पार्टीको नेतृत्वमा आफु आउने सुनिस्चितता खोजेको बताइएको छ ।

यसअघि विवाद रहेका भनिएका चुनाव चिन्ह र ‘जनयुद्ध’ शब्दमा भने दुई अध्यक्षबीच सहमति भइसकेको बताइएको छ । पार्टी एकता पछि चुनाव चिन्ह सुर्य नै हुने र एकीकृत पार्टीको प्रस्तावनामा अहिलेको अवस्थासम्म आइपुग्न ‘जनयुद्ध’ को भुमिका रहेको भन्ने उल्लेख गर्नेमा सहमति भएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै