• २०८१ बैशाख १८ मंगलबार

नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी पूरा

kharibot

कास्की । पोखरामा भोलिदेखि सञ्चालन हुने नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र ताल किनारको क्याम्पिङ चोकमा फेस्टिभल आयोजना हुँदैछ ।

यस प्रकारको फेस्टिभल चीन बाहिर दक्षिण एसियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास आयोजकको छ ।

‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिने गरी बनाइएका डुङ्गा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुङ्गाको दिशा मिलाउँछन् । निर्धारित दूरी सबैभन्दा छिटो पार गर्ने टोली विजेता बन्नेछ ।

बोट रेस र फेस्टिभलमा सहभागिताका लागि चिनियाँ टोली पोखरा आइसकेको छ । चिनियाँ टोली बुधबार चार्टर्ड उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताअन्तर्गत शुक्रबार र शनिबार फेवातालमा दुई सय र पाँच सय मिटरमा दुई विधामा आठवटा बोट रेस प्रतियोगिता हुने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए । 

प्रतिष्पर्धामा नेपालबाट नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन (एनआरसीए), चाइना नेपाल फ्रेन्डसीप, फेवा ढुङ्गा व्यवसायी सङ्गठन र पोखरा महानगरपालिकाको टिम रहेको छ । 

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसिएसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रूपमा रहेका छन् । बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीमा हस्ताक्षर भएको थियो ।

यस प्रकारको कार्यक्रमले समग्रमा पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विश्वास व्यक्त गरे । 

उनले भने, “बोट रेसको आवश्यक सम्पूर्ण तयारी सकिएको छ । दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले नेपालको विश्वभर प्रवर्द्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्दछ ।”

रेसका लागि चीनको केरुङनाका हुँदै आठवटा विशेष खालका डुङ्गा तथा आवश्यक सामग्री र बोट रेस प्रशिक्षक जेठ अन्तिम साता पोखरा आएर अभ्यास गरेका थिए । 

प्रतियोगिताको तयारीका लागि आज बिहान चिनियाँ र नेपाली टोलीले फेवातालमा अभ्यास प्रशिक्षण गरेका छन् । दुई सय र पाँच सय मिटरमा दुई विधामा प्रतिस्पर्धा हुने नेपाल र्याफ्टिङ तथा कायाकिङका राष्ट्रिय प्रशिक्षक निमबहादुर मगरले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै