• २०८१ बैशाख १४ शुक्रबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

kharibot

लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशव्यापी ‘स्वतन्त्रता’ प्रदर्शनका लागि आह्वान गरेका छन् । 

यसै साता आफ्नो संक्षिप्त गिरफ्तारी र हिरासतले देशव्यापी अशान्ति भएपछि अदालतको आदेशमा उहाँलाई रिहा गरिएको थियो । 

गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका क्रिकेट सुपरस्टारको पक्राउलाई सर्वोच्च अदालतले ‘गैरकानुनी’ ठहर गरेपछि उहालाईँ शुक्रबार जमानतमा रिहा गरिएको थियो ।

गिरफ्तारीबाट आक्रोशित समर्थकहरूले सरकारी भवनहरूमा आगजनी गरेका थिए भने सडकहरू अवरुद्ध गरेका थिए । उनीहरूले सेनाको सम्पत्तिमा क्षतिसमेत पुर्याएका थिए ।  “स्वतन्त्रता सजिलै आउँदैन । हामीले त्यसलाई खोस्नु पर्छ । यसका लागि सबैले त्याग गर्नुपर्छ,” उनले भने ।

उनले समर्थकहरूलाई आइतबार साँझ स्थानीय समयानुसार ५: ०० बजे एक घण्टाका लागि देशभरका ‘आफ्ना सडक र गाउँहरूको चोकमा’ विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए । 

पाकिस्तानमा पाँच दिनसम्म चलेको कोलाहलपछि आइतबार बिहान शान्त रहेको थियो । खानले तत्काल चुनावका लागि बुधबार नै चुनावी अभियानमा फर्कने प्रतिबद्धता जनाएका थिए । 

महिनौंदेखि पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका नेताले सेनाविरुद्ध अवज्ञाको अभियान चलाइरहेका छन् ।

गत वर्ष आफूविरुद्ध भएको हत्याप्रयासमा वरिष्ठ अधिकारीको संलग्नता रहेको बताएको केही घण्टापछि गत मङ्गलबार उनलाई पक्राउ गरिएको हो । 

पाकिस्तानको शक्तिशाली सेनाले आफ्नो ७५ वर्षको इतिहासको लगभग आधा भाग देशमाथि प्रत्यक्ष रूपमा शासन गरेको छ र राजनीतिक प्रणालीमाथि शक्ति प्रयोग गरिरहेको छ ।

“सेना प्रमुखको कदमले हाम्रो सेनालाई नराम्रो बनाएको छ । यो उहाँको कारणले हो, मेरो कारणले होइन,” खानले लाहोरस्थित आफ्नो घरबाट गरेको सम्बोधनमा भने । 

यसअघि उनले पत्रकारसँग कुरा गर्दै आफूलाई पक्राउ गर्नुमा ‘एक व्यक्ति, सेना प्रमुख’ को हात रहेको बताएका थिए ।  तर खानले प्रदर्शनमा सेनाका प्रतिष्ठानहरूमाथि भएको आक्रमणबाट आफूलाई टाढा राख्दै आफ्नो पार्टीका कार्यकर्ताहरू संलग्न रहेको अस्वीकार गरे । उनले हिंसाको स्वतन्त्र अनुसन्धानको माग गरे । 

खानले लगाएको आरोपको खण्डन गर्दै आएको सेनाले शनिबार संस्थाविरुद्ध ‘गलत धारणा’ सिर्जना गर्ने प्रयासविरुद्ध चेतावनी दिएको छ । 

यस हप्ता भएको हिंसामा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रहरी र अस्पतालले जनाएका छन् ।

पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तमा सयौं प्रहरी अधिकारी घाइते हुनुका साथै चार हजारभन्दा बढीलाई हिरासतमा लिइएको अधिकारीहरुले बताएका छन् ।

खानका एक वकिलका अनुसार प्रदर्शन सुरु भएयता पीटीआईका कम्तीमा १० जना वरिष्ठ नेतालाई पक्राउ गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै