• २०८१ बैशाख १७ सोमबार

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिदै, सरकार ढल्ने निश्चित

kharibot

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिदै छन् । सरकारमा सामेल दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने भएका हुन् ।

गिरीलाई यसअघि समर्थन दिएका माओवादी केन्द्रसहितका दलहरुले केन्द्रमा समीकरण बदलिएपछि समर्थन फिर्ता लिएका थिए ।

यसैबीच मुख्यमन्त्रीमा कांग्रेस र माओवादीले आलोपालोको सहमति भएको छ । दुवै दलका संसदीय दलका नेता काठमाडौं पुगेर पार्टी नेतृत्वसँगको छलफलपछि पहिलो चरणमा लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई समर्थन गर्ने  र दोस्रो चरणमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्ने सहमति भएको छ । 

दुई दलबीच आलोपालो मुख्यमन्त्रीमा सहमति भए पनि मन्त्रालय बाँडफाँटमा भने चुनौती देखिएको छ । 

मुख्यमन्त्री गिरीले लुम्बिनीमा मन्त्रालयको संख्या १७ बाट घटाएर १० मा झारेका छन् । गिरी मुख्यमन्त्री बन्दा माओवादीलाई ३, राप्रपा, जसपा र जनमतलाई १/१ मन्त्रालय दिएर एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय लिएको थियो । 

८७ सदस्यीय लुम्बिनी प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत र लोसपाका ३-३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका १-१ प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

अहिले एमालेका गिरी नेतृत्वको सरकारमा राप्रपाले मात्र समर्थन गरिरहेको छ । एमाले र राप्रपाको जम्मा मत ३३ छ । सरकार टिकाउन गिरीलाई थप ११ मत आवश्यक पर्छ । मुख्यमन्त्री गिरीले आवश्यक मत पाउने अवस्था नरहेकोले आज उनको सरकार ढल्ने देखिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै