• २०८१ बैशाख २३ आइतबार

ताप्लेजुङमा रेडपाण्डा अध्ययन केन्द्र निर्माण

kharibot

फुङ्लिङ । ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ ।

फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो ।

जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । राईका अनुसार केन्द्र स्थापनाका लागि रू एक करोड ५७ लाख खर्च भएको छ । निर्माण कम्पनी एसएनपीका आयोजना सुपरभाइजर अमृत भट्टराईका अनुसार संरचना निर्माणमा वातावरणमैत्री कच्चापदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको छ ।  भट्टराईले गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर भवन निर्माण गरिएको बताए । 

केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताए ।

स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन, सदुपयोगसहित पर्यटन प्रवद्र्धन गरी उपभोक्ता समूहको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको उनको भनाइ छ ।

दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीलगायत प्रजातिको प्रदर्शनीस्थलका रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै