• २०८१ जेठ १ मंगलबार

कैलालीमा चैते धान खेती विस्तार गरिँदै

kharibot

टीकापुर । कैलालीमा यस वर्ष एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ ।

कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो । 

कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूह गरी मुख्यमन्त्री नमूना कृषि गाउँ, ब्लक प्रर्दशन, धानबाली प्रवद्र्धन र चैते धान खेती विस्तार कार्यक्रमअन्तर्गत कैलालीमा चैते धान खेती हुँदैछ ।

धान खेती भजनी, टीकापुर, घोडाघोडी नगरपालिका, कैलारी, जोशीपुर, जानकी र बर्दगोरिया गाउँपालिकामा गरिँदैछ ।

जसमध्ये वर्खामा डुबान हुने क्षेत्रमा धेरै क्षेत्रफलमा चैते धान खेती भइरहेको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत रामनारायण चौधरीले बताए । “बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरिएको छ”, उनले भने, “भजनी कैलालीको सबैभन्दा बढी चैते धान लगाउने पालिका हो । भजनीसहित केही पालिकामा बर्र्सातमा बाढीले जलमग्न हुने भएकाले चैते धान विकल्पका रुपमा गर्ने गरिएको छ ।”

यस्तै सङ्घीय सरकारको सहयोगमा धान खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानको आवेदन सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

स्थानीय तहहरूले किसानको मागका आधारमा चैते धान खेती कार्यक्रम सञ्चालन गरेका छन् भने रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले चैते धान खेतीका लागि किसानसँग आवेदन माग गरेका छ ।

जसअनुसार अहिले टीकापुर क्षेत्रमा चैते धान खेती सहयोगका कार्यक्रम रहेका आयोजनाका बाली विकास अधिकृत जयबहादुर महतराले बताए । “सिँचाइ आयोजना कृषितर्फले हरेक वर्ष धान खेती प्रोत्साहनमा सघाउँदै आएको छ । यस वर्ष चैते धानका लागि पनि किसानलाई प्रोत्साहन तथा सहयोगका कार्यक्रम छन्”, उनले भने, “अहिलेसम्म दुई हेक्टरलाई माग आएको छ । धान खेतीका लागि किसानलाई बीउ, मल, प्राविधिक ज्ञान, उपकरणजस्ता कुरामा आयोजनाले सहयोग गर्ने गरेको छ ।”आयोजनाले किसानलाई चैते धान खेतीको लागि बीउ तथा यान्त्रीकरणमा ५० प्रतिशत अनुदान दिएको छ । सिँचाइ सुविधा सहज भएको ठाउँमा चैते धान खेतीको उत्पादन प्रतिहेक्टर ६० क्विन्टलसम्म रहेको प्राविधिक बताउँछन् ।

चैते धान खेतीले खाद्यान्न उत्पादनसँगै बाह्यबाट आउने चामल आयात प्रतिस्थापन गर्नमा सहयोग पुर्याउने बाली विकास अधिकृत रामनारायण चौधरीले बताए । चैते धानको उत्पादनसँगै बजार सहज भएकाले पछिल्ला वर्षमा चैते धान खेती गर्ने किसान बढ्दै गएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै