• २०८१ जेठ ६ आइतबार

निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ- मन्त्री मोदी

kharibot

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन् । 

उक्त अस्पतालको आज अनुगमनका क्रममा मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवक (प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी) को उपचारको व्यवस्था गर्ने गरी अस्पतालको विकास गर्नुपर्ने बताए ।

उनले सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गरिने बताए । अनुगमनका क्रममा मन्त्री मोदीले स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्ने धारणा राखे । लामो समयदेखि रोकिएको अस्पताल र कर्मचारीको वृद्धिविकासतर्फ आफूले ध्यान दिने उनको भनाइ छ । 

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा.विधाननिधि पौडेलले अस्पतालले हालसम्म गरेका कामका बारेमा जानकारी गराएका थिए । उनले अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए । अस्पताललाई अतिविशिष्टिकृत बनाउँदै चिकित्सा विज्ञान प्रतिष्ठानको रुपमा स्थापना गरी विशिष्ट शिक्षण अस्पतालको रुपमा विकास गर्ने तयारी रहेको पौडेलले जानकारी दिए । 

अस्पतालका उपसचिव कृष्ण सापकोटाले चालू आवमा चार सय शैय्या पु¥याउने बताए । उनले प्रदेश तहमा अस्पतालको सेवा विस्तार गरी निजामती कर्मचारीलाई सहज रुपमा सेवा उपलब्ध गराउने बताए ।

चालू आव भित्रमा एमआरआई, कार्डियो, युरोलोजी, न्यूरो, रेडियोथेरापी सेवा सुरु गर्ने उनले जानकारी दिए । चीन सरकारको सहयोगमा निर्माण गरिएको सो अस्पतालले २०६५  चैत १६ गतेदेखि बहिरङ्ग सेवा सुरु गरेको हो । अस्पतालमा हाल ७५ प्रतिशत सर्वसाधारण र २५ प्रतिशत कर्मचारी उपचारका लागि आउने गरेका बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै