• २०८१ बैशाख १७ सोमबार

प्रतिनिधि सभामा भर्चुअल बैठकले पनि मान्यता पाउने, लबि रिपोर्टिङको व्यवस्था

kharibot

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठक संसद भवन बाहिर पनि गर्न सकिने भएको छ । प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिले सभाको भर्चुअल बैठकले पनि वैधानिकता पाउनेगरी नियमावलिमा नै स्पष्ट व्यवस्था गरेपछि प्रविधिबाट बैठक सञ्चालनको बाटो खुलेको हो ।

मस्यौदा समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकले कम्तिमा एक चौथाई सदस्यको सहमतिमा भर्चुअल बैठक बस्न सकिने प्रावधान सहितको व्यवस्थालाई सर्वसम्मति पारित गरेको हो । भर्चुअल बैठक अनुमतिको सम्पूर्ण विशेषाधिकार भने सभामुखमा निहीत राखिएको छ ।

बैठकको कार्यविधि सभामुखले निर्धारण गरे बमोजिम हुने भन्ने व्यवस्था प्रश्तावित नियमावलिमा गरिएको छ । एक चौथाई सदस्यको सहमति पछि कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले निर्णय गर्नसक्ने व्यवस्था नियमावलिमा गरिने भएको हो ।

कोभिड महामारीको समयमा संसद बैठक बस्न सकेको थिएन । विश्वका कतिपय मुलुकले तत्काल संकटकालिन आवश्यक नियमावलि बनाएर संसदको बैठक सञ्चालन गरी महामारी नियन्त्रणका लागि सरकारलाई आवश्यक ऐन नियम बनाएका थिए । तर नेपालमा भर्चुअल संसद बैठक बस्नका लागि नियमावलिमा व्यवस्था नभएका कारण प्रविधिबाट बैठक सञ्चालन भएको थिएन ।

भर्चुअल बसेका समितिका बैठकहरुले पनि वैधानिकता पाएका थिएनन् । नियमावलीमा गर्न लागिएको यो व्यवस्थाले भौतिक रुपमा संसद बैठकमा उपस्थित हुन नसक्ने स्थितिमा पनि बैठक सञ्चालनको बाटो खुल्नेछ । 
नियमावलिले संसद र मिडियाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै संसदीय कारवाहीलाई पारदर्शी बनाउने उद्देश्यसाथ लबि रिपोर्टिङको व्यवस्था मिलाउने किसिमको प्रावधान राखिएको छ ।

मिट द प्रेस भनेर सभाभित्रै एउटा कक्ष बनाउने प्रश्ताव समितिमा उठेपनि भिन्नै कक्ष निर्माण गर्ने कुरा प्रश्तावित नियमावलीमा लेखिएको छैन । तर ‘सञ्चारकर्मीसंगको भेटघाट र लवि रिपोर्टिङको आवश्यक व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख गरिने भएको छ । यसअघि भौतिक उपस्थिति बिना प्रविधिमार्फत बैठक सञ्चालन र लबि रिपोर्टिङको व्यवस्था नियमावलीमा उल्लेख गरिएको थिएन ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै