• २०८१ बैशाख १५ शनिबार

संघियता बारे संसदमा बहस: एमाले-माओवादीको आरोप राप्रपाद्वारा प्रतिवाद

kharibot

काठमाडौँ । प्रतिनिधि सभामा संघियताको पक्ष विपक्षमा बहस भएको छ । बुधबारको बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरुले संघियताको विरुद्ध बोल्ने राप्रपाका मन्त्रीहरुको आलोचना गरेका थिए भने राप्रपाका सांसदहरुले त्यसको प्रतिवाद गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरुबीच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । 

पन्तले सहरी विकासमन्त्री एवं राप्रपाका सांसद विक्रम पाण्डेले ‘संघीयता, धर्मनिरपेक्षता र अहिलेको कानुन नमान्ने’ भनी दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाएका थिए ।

उनले भने- 'धर्मलाई आफ्नो जीवनशैलीमा ढालौँ । राजनीतिक एजेन्डा बनायो भने न पाकिस्तान, बंगलादेश र भारत शान्त छ, मन्त्री भएर राय बनाउन थाल्दा कुन बाटोमा जान्छ भन्ने हो । राप्रपाको आफ्नो विचार होला, सांसदले बोल्लान्, तर मन्त्री भएर बर्खिलापमा बोल्न मिल्दैन । राष्ट्रियसभामा प्रधानमन्त्री बोल्ने अनि त्यसको भोलिपल्ट संविधानको आधारभूत मान्यताविरुद्ध मन्त्री नै जाने ? यो संविधान र कानुनको अधिनमा रहेर मन्त्रीहरूले गतिविधि अघि बढाउनुपर्दछ । संविधानको प्रस्तावनामै लेखिएको छ । संविधानअनुसार शपथग्रहण गर्नुभएका र शपथ लिनुभएको हो, मन्त्रीहरूले । प्रधानमन्त्रीसँग फरक मत राख्न मिल्दैन ।'

यसैगरी, नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्का सदस्यहरुले संविधानको व्यवस्थाविपरीत बोल्न नहुने धारणा राखेका थिए ।

तर राष्ट्रिय प्रजातन्त्र पार्टीका  ज्ञानबहादुर शाहीले सांसदले बोलेको उक्त विषयप्रति आपत्ति जनाउँदै धर्म, गणतन्त्र र सङ्घीयताका सवालमा संसद्मा बोल्न पाउने व्यवस्था हुनुपर्ने माग गरेका थिए ।

रघुजी पन्त र शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शाहीले अहिलेकै संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई टुंग्याउन सकिने बताए । 

नेपालको संविधानले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमसत्ता प्रतिकुल हुनेगरी संशोधन गर्न नसकिने व्यवस्था गरेको भन्दै उनले गणतन्त्रका विषय यही संविधान र संसदले टुंग्याउन सकिने बताए । 

संविधान बनाउने क्रममा संघीयता र  धर्मनिपेक्षता चाहिने कि नचाहिने भन्दै सांसदबाट संकलन गरिएको राय किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गरेका उनले यही संसद र संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षता चाहिन्छ या चाहिँदैन भन्ने टुंगो लगाउन सकिने बताए । 

त्यस्तै प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद धवलशमशेरले संसदमा राप्रपालाई नहेप्न चेतावनी दिदै जनताको मत पाएर सदनमा आएको बताए ।

उनले भने- राप्रपा सानो होला तर हामी नेपाली जनताको मनमा भिजेका छौं । हामी नेपालमा फेरी सनातन हिन्दु राज्य कायम गर्न आएका छौं । हामी फेरी राजासहितको प्रजातन्त्र कायम गर्न आएका छौं, त्यो कुरा संबिधानले रोक्दैन ।' उनले आफुहरुले संबिधान मान्ने बताउदै यहि संबिधान भित्र बसेर आफ्ना मुल्य र मान्यता पुरा गर्ने बताए । उनले संसदमा आफुहरुलाई हेप्ने काम नहोस भन्दै चेतावनी दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै