• २०८१ बैशाख २२ शनिबार

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल जारी 

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्ताव पेस गरिन्  । उक्त प्रस्तावलाई नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए ।

उक्त प्रस्ताव पेस गर्दै सांसद गौतमले उम्मेदवार रानामगर राजनीतिमा नयाँ भए पनि सामाजिक क्षेत्रमा आम नेपालीबीच परिचित अनुहार भएको बताइन् ।

कारागारमा रहेका अभिभावकका बालबालिकाको अभिभावकत्व लिएर समाजमा उदाहरणीय कार्य गरेको उल्लेख गर्दै उनले रानामगरलाई उपसभामुखमा निर्वाचित गराएर गौरव गर्नुपर्ने धारणा राखिन् ।“अन्धकारमा जीवन बिताइरहेका कैयौँ नेपाली बालबालिकालाई नयाँ जीवन र नयाँ भविष्य दिएर नेपालको भविष्य नै उज्जवल बनाने माननीय इन्दिरा रानामगर यस गरिमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको, उनको योग्यताको कदर मात्र होइन । बरु उपसभामुखको कुर्सी नै सम्मानित हुनु हो”, उनले भनिन् । उक्त प्रस्तावका समर्थक श्रेष्ठले समाजमा दिएको योगदानको प्रतिफलका आधारमा नै रानामगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएको बताए । उनको पृष्ठभूमि, वर्तमान अवस्था र भविष्यमा खेल्नसक्ने भूमिकालाई मध्यजनर गर्दै उपसभामुखमा सान्दार मतबाट निर्वाचित गराउन श्रेष्ठले आग्रह गरे । अर्का समर्थक शर्माले सामाजिक क्षेत्रमा अब्बल व्यक्तिका रुपमा सांसद रानामगर रहेको उल्लेख गर्दै सिङ्गो संसद्लाई उनले नेतृत्व गर्न सक्ने बताइन् । उनले महिला, जनजाति, पछाडि परिएका व्यक्तिलाई अगाडि ल्याउन पनि रानामगरलाई उपभामुखमा विजयी गराउनुपर्ने बताइन् ।

अर्का समर्थक लिङ्देनले रानामगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलेसमेत नजिकबाट चिनेको उल्लेख गर्दै उनले भूइँ मान्छोका रुपमा आफ्नो देशको नाम राख्ने काम गरेको स्मरण गरे । “आफूलाई सम्पूर्णरुपमा समाजसेवामा समर्पित गरेका छन्, त्यस्तो व्यक्तिलाई समर्थन गर्न पाउनु अत्यन्त खुसीको विषय हो”, उनले भने, “रानामगरलाई राप्रपाको पूर्ण समर्थन छ । सबै पार्टी र सांसदलाई उनको पक्षमा मतदान गर्न अपिल गर्न चाहन्छु ।”

उपसभामुख पदका अर्का उम्मेदवार मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सभामा प्रस्ताव पेस गरे । उक्त प्रस्तावलाई नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले समर्थन गरेका छन् ।

प्रस्ताव पेस गर्दै सांसद पाण्डेले संसदीय अभ्यासमा यादव अनुभवी रहेकाले उपसभामुखमा विजयी गराउनुपर्ने बताए । “उनले समावेशी संविधान निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । यस्तै राष्ट्रियसभा सदस्यका रुपमा पनि जनताको प्रतिनिधिका रुपमा काम गरे”, सांसद पाण्डेले भने ।

उक्त प्रस्तावका समर्थक मेटमणि चौधरी र अर्का समर्थक शुक्लाले यादवको योग्यता र क्षमतामाथि विश्वास गरेर मतदान गर्न सबै सांसदलाई आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै