काठमाडौँ । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो साउदी अरबको रियादमा एक मैत्रीपूर्ण खेलमा विहिबार राति एकअर्का विरुद्ध खेल्दैछन् ।
रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको अल स्टार टिमको कप्तानी गर्ने भएका छन् । यस खेललाई रोनाल्डो र मेसी एक अर्काविरुद्ध खेल्ने अन्तिम खेल हुन सक्ने बताइएको छ ।
रोनाल्डो र मेसी यसअघि अन्तिम पटक डिसेम्बर २०२० मा आमने सामने भएका थिए । त्यति बेला रोनाल्डो युभेन्टसमा र मेसी बार्सिलोनामा रहेका थिए । सो खेल युभेन्टसले ३-० ले जितेको थियो ।
रोनाल्डो अल नासरमा आवद्ध भएपछि अझै डेभ्यु गर्न बाँकी नै छ । उनले जनवरी २१ मा मात्र डेभ्युको तयारी गरेका छन् ।
कतारको स्वामित्वमा रहेको पीएसजीले अहिले दोहा पुगिसकेको छ र त्यसपछि साउदी अरेबियाको राजधानी किङ फाहद स्टेडियममा हुने खेलमा मेसी र रोनाल्डोबीचको प्रतिद्वन्द्वीता नवीकरण हुनेछ ।
फेब्रुअरीमा ३८ वर्ष पूरा हुने रोनाल्डोले सन् २०२५ सम्मका लागि २० करोड युरोभन्दा बढी मूल्यको सम्झौतामा सहमति जनाएपछि अल नासरमा सामेल भएका हुन् ।
सन् २०३० मा ग्रीस र इजिप्टसँग मिलेर विश्वकप आयोजना गर्ने सम्भावित संयुक्त प्रयासअघि साउदी अरेबियाले देशमा फुटबलको प्रोफाइल सुधार्न खोजिरहेको बेला फ्रान्सेली रुडी गार्सियाको प्रशिक्षणमा अल नासरमा पोचुगाली स्टार रोनाल्डोको आगमन भएको विश्लेषण गरिएको छ ।
रोनाल्डो र मेस्सीले पछिल्लो १५ वर्षमा १२ पटक बालोन डी’ओर जितेका छन् ।
उनीहरूको प्रतिद्वन्द्विता नौ वर्षको दौरानमा बढ्यो जसमा उनीहरू स्पेनमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा गर्दै आएका थिए ।
उक्त समय मेसी बार्सिलोनाका लागि र रोनाल्डोले रियल म्याड्रिडका लागि खेलेका थिए ।
यस खेलका लागि भिआइपी टिकट लिलाम बढाबढमा बिकी गरिएको छ । लिलाममा साउदी रियल स्टेट व्यापारी मुश्रेफ अल घामडीले मेसी र रोनाल्डोबीच हुने यस खेलको एक टिक २.६ मिलियन डलरमा किनेका छन् ।
अब उनले भिआइपी टिकट किनेसँगै विशेष ठाउबाट खेल हेर्न दिने, खेलाडीसँग भेट गर्न, र खेलाडीसँग फोटो खिचाउन पाउने लगायतका सुबिधा पाउने भएको साउदी जनरल इन्टरटेनमेन्ट अथरिटीले जनाएको छ । साउदीले यो रकम एहसान नामक च्यारिटीमा जाने समेत बताएको छ ।
यस खेलको टिकट खुलेको एक घण्टामै २० लाख भन्दा बढी अनलाइन टिकटको अनुरोध समेत आएको आयोजकले जनाएका छन् ।
यता पिएसजीले यस मैत्रीपूर्ण खेलबाट १० मिलियन युरो कमाई गर्ने भएको छ ।