• २०८१ बैशाख ४ मंगलबार

६० बर्षमा पहिलो पटक घट्यो चीनको जनसंख्या

kharibot

काठमाडौँ । सन् २०२२ मा चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ । गत वर्ष चीनको राष्ट्रिय जन्मदरमा कीर्तिमानी गिरावट आएको छ । सन् २०२२ मा चीनमा ९५ लाख बालबालिकाको जन्म भएको थियो भने सन् २०२१ मा १ करोड ६२ लाख बालबालिकाको जन्म भएको थियो ।

राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार सन् २०२१ मा चीनको जन्मदर ७.५२ प्रतिशत थियो, जुन सन् २०२२ मा घटेर ६.६७ प्रतिशतमा पुगेको छ । यसको मतलब चीनमा जहाँ सन् २०२१ मा प्रति हजार मानिसमा ७.५२ बच्चा जन्मिएका थिए, त्यो सन् २०२२ मा घटेर ६.६७ पुगेको छ । यो सन् १९४९ यताकै न्यून हो ।

सन् २०२२ मा ८ लाख ५० हजार मानिस घटे

सन् २०२१ मा चीनको जनसङ्ख्या १ अर्ब ४१ करोड २६ लाख थियो, जुन सन् २०२२ मा घटेर १ अर्ब ४१ करोड १८ लाख पुगेको छ । अर्थात् एक वर्षमा कूल ८ लाख ५० हजार मानिस घटेका छन् । चीनको जनसङ्ख्यामा ३१ राज्यका मानिसहरूलाई गनिन्छ । यसमा हङकङ, मकाउ र ताइवान समावेश छैन ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनमा सन्तान जन्माउने लागत बढ्दै गएको छ । योसँगै परिवार र विवाहलाई लिएर मानिसको सोचमा निरन्तर परिवर्तन भइरहेको छ, त्यसको असर त्यहाँको जन्मदरमा पनि परिरहेको छ । द मर्निङ पोस्टले चीनको आर्थिक मन्दी र कोरोना अवधिमा लगाइएको प्रतिबन्धलाई पनि जिम्मेवारी दिएको छ ।
सन् २०१६ देखि चीनको जनसंख्या घट्दै 

सन् २०१६ देखि चीनमा जनसंख्या दर घट्दै गएको छ । त्यसयता चीनले स्थानीय तहमा बालबालिकाको संख्या बढाउन काम गर्न थाल्यो । यसका लागि मानिसहरूलाई पैसा पनि दिइयो। उनीहरुलाई सामाजिक सुरक्षा भत्ताका साथै आवास र शिक्षामा छुट समेत घोषणा गरिएको थियो । सन् २०२१ सम्ममा चीनले आफ्नो एक सन्तान नीति पनि हटाएको छ । जसका कारण मानिसहरूले एउटा मात्र बच्चा जन्माउन पाएका थिए । चीनले अब तीन सन्तान जन्माउन पाउने घोषणा गरेको छ । तर, त्यसले खासै सहयोग गर्न सकेन ।

चीनले किन लागू गर्‍यो एक सन्तान नीति ?

चीनले सन् १९७९ मा एक बच्चा नीति लागू गरेको थियो । यो १९८० देखि लागू गरिएको थियो । त्यतिबेला चीनको जनसङ्ख्या ९८ करोड ६१ लाख थियो र निरन्तर बढ्दै गयो । चीनले बढ्दो जनसङ्ख्या देशको विकासमा बाधक बन्न सक्ने अनुमान गर्यो । सोही कारण यो नीति लागू भएको हो । सो अवसरमा परिवार नियोजनका बारेमा जनचेतना जगाउनका साथै कडाई पनि गरिएको थियो ।

मानिसहरूलाई जरिवाना गरियो, एक भन्दा बढी बच्चा जन्माएकोमा जागिरबाट निकालियो, महिलाहरूलाई गर्भपतन गर्न बाध्य पारियो र पुरुषहरूलाई भ्यासेक्टोमी गर्न बाध्य पारियो ।

चीनमा सन् २०१६ सम्म एक बच्चा नीति लागू रह्यो । यो अवधिमा चीनले ४० करोड बालबालिकाको जन्म रोकेको विश्वास गरिन्छ । त्यसको बेफाइदा भनेको देशमा वृद्धवृद्धाको जनसङ्ख्या बढ्दै गएको र युवाको सङ्ख्या घट्दै गयो । यसै कारणले सन् २०१६ मा दुई सन्तान नीति लागू गरी केही छुट दिइएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै