• २०८१ बैशाख १९ बुधबार

प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा दमकमा आगलागी भएको घटनास्थलको अनुगमन

kharibot

दमक । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक–६ स्थित नमुना बजारमा आइतबार बिहान भएको आगलागी भएको घटनाबारे स्थलगत जानकारी लिएका छन् । 

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार साँझ आगलागीस्थलमा पुगी घटनाका बारेमा जानकारी लिएका हुन् ।

उनलाई नगर प्रमुख थापा, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले घटनाका बारेमा जानकारी गराएका थिए  ।

त्यस्तै, उनले आगलागी पीडित व्यवसायीसँगसमेत संवाद गर्नुभएको नगर प्रमुख थापाले जानकारी दिए । मुख्यमन्त्री समक्ष पीडितहरुले आफूहरुलाई पुनःस्थापित तथा राहतमा सहयोग पुर्याइदिन माग राखेका थिए । त्यस क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी प्रशासनलाई घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका थिए ।

 पीडित व्यवसायीलाई राहत उपलब्ध गराउन स्थानीय सरकार र यहाँका राजनीतिक दल, सङ्घ संस्थाको सक्रियता पहिलो हुने उनले बताए ।

“प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने र गर्न मिल्ने सम्मको राहत आफूले तुरुन्तै उपलब्ध गराउने छु”, मुख्यमन्त्रीले भने । 

घटनामा ६ वटा पसल पूर्णरुपमा क्षति भएको तथा अन्य तीन वटा पसलका सबै सामान जल्दा करिब दुई करोड बढीको धनजनको क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो लगाएको आरोपमा दुई जना पक्राउ

आइतबार बिहान दमक– ६ स्थित नमुना बजारमा भएको आगालागीमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।

सिसिटिभी फूटेजका आधारमा अनुसन्धान गर्दा दुई व्यक्तिले आगजनी गरेको देखिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीले आगजनीमा संलग्न एक जनालाई पक्राउ गरिसकेको छ । आगजनीबाट त्यहाँका कपडा, जुत्ताचप्पल पसल तथा टलरिङ सेन्टर गरी नौ वटा पसल पूर्णरूपमा जलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट करिब दुई करोड बराबरको धनमाल क्षति भएको छ । यद्यपि, क्षतिको पूर्ण विवरण आइसकेको छैन । प्रहरीका अनुसार आगलागीबाट राजु श्रेष्ठ, सङ्गीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै घटनास्थल छेउछाउका चार वटा पसल भत्काउनु परेको थियो ।

प्रनाउ गिरीले सिसिटिभीको फुटेज हेर्दा दुईजना व्यक्तिमध्ये एकजनाले पेट्रोल खनाएको र अर्कोले लाइटर जलाएको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।

पक्राउ परेका ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन् भने फरार अर्काको खोजी भइरहेको उनले बताए । पक्राउ परेकाले घटनामा आफनो संलग्नता स्वीकार गरिसकेको प्रहरीको दाबी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै