• २०८१ बैशाख १७ सोमबार

भारतीय यशको किर्तिमानी ब्याटिंग: ५०८ रन, ८१ चौका, १८ छक्का !

kharibot

काठमाडौँ । भारतको महाराष्ट्रका १३ वर्षीय ब्याट्सम्यान यश चावडेले इतिहास बनाएका छन् । यशले मुम्बई इन्डियन्स जुनियर स्कूल प्रतियोगितामा ५०८ रनको अपराजित इनिङ खेल्दै नयाँ इतिहास बनाएका हुन् ।

शुक्रबार नागपुरमा भएको ४०–४० ओभरको खेलमा यशको टिम सरस्वती विद्यालयले बिना विकेट गुमाएर ७१४ रन बनाएको थियो ।

जवाफमा प्रतिद्वन्द्वी सिद्धेश्वर विद्यालयको टोली ५ ओभरमा ९ रनमा अलआउट भयो । यसरी सरस्वती विद्यालयले खेल ७०५ रनले जित्यो ।

यशले आफ्नो पारीमा १७८ बलको सामना गर्दै ८१ चौका र १८ छक्का प्रहार गरेका थिए । यश कुनै पनि अन्तर विद्यालय सीमित ओभरको क्रिकेट खेलमा ५०० वा सोभन्दा बढी रन बनाउने पहिलो भारतीय ब्याट्सम्यान बनेका छन् । यस विधामा सबैभन्दा ठूलो इनिङ खेल्ने विश्व कीर्तिमान श्रीलंकाका चिरथ सेलेपेरुमाको नाममा छ । चिरथले सन् २०२२ मा श्रीलंकामा भएको अन्डर-१५ खेलमा ५५३ रन बनाएका थिए ।

क्रिकेट तथ्याङ्कविद् मोहनदास मेननका अनुसार यशको इनिङ्स कुनै पनि ढाँचा र जुनसुकै उमेर समूहमा ५०० रनभन्दा माथिको १० औं इनिङ्स हो। जसमध्ये ५ पटक भारतीय ब्याट्सम्यानले यस्तो उपलब्धि हासिल गरेका छन् । यशअघि प्रणव धनवडे (अनटआउट १००९), प्रियांशु मोलिया (५५६ रन), पृथ्वी शा (५४६ रन) र दादी हावेवाला (५१५) जस्ता ठूला पारी खेल्ने भारतीय ब्याट्सम्यान थिए ।

यी चार ब्याट्सम्यानले एक दिनभन्दा बढी खेलमा यति धेरै रन बनाएका थिए । यश सीमित ओभरको क्रिकेटमा ५००+ रन बनाउने पहिलो भारतीय बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै