• २०८१ बैशाख २२ शनिबार

उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

kharibot

काठमाडौँ । सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि राखेको छ ।

चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाअनुसार नेपालका लागि क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधि उच्च निर्यात सम्भावना भएका वस्तु हुन् । यी वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था सरकारले बजेटमा राखेको छ ।

जुत्ताचप्पलको निर्यातमा अनुदान दिने नीति सरकारले लिएको भए पनि त्यसका लागि व्यावसायिक वातावरण भने बनाउन नसकेको व्यवसायीहरूको भनाइ छ ।

स्वदेशी उत्पादनको संरक्षण र बजार बिस्तारका लागि सरकारी पहल हुन नसकेको जुत्ता उत्पादक सङ्घ नेपालका अध्यक्ष नानिराज घिमिरे बताउछन् ।

“सरकारले निर्यातमा अनुदान दिने त भन्यो तर त्यसका लागि हामीले कुनै सहयोग पाएनौँ । सरकारको नीति सकारात्मक भए पनि व्यवहारमा हामीले अनुभूत गर्न सकेका छैनौँ”, घिमिरेले भने । नेपाली जुत्ताचप्पलको उत्पादन लागत बढी हुने भएका कारण विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिएको उनको भनाइ छ ।

बैंकको उच्च ब्याजदर, कच्चा पदार्थमा उच्च भन्सार दर, चोरी पैठारी, न्यून बिजकीकरणलगायतका समस्या रहेको घिमिरेले बताए ।

सरकारले जुत्ता चप्पलको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने भने पनि अधिकांश नेपाली उत्पादकले यस्तो अनुदान लिन नसकेको घिमिरे स्वीकार्छन्  ।

“आठ प्रतिशतसम्म नगद अनुदान लिनका लागि धेरै उत्पादकहरूका कारोबार रकम नै पुग्दैन । तर तीनदेखि पाँच प्रतिशतसम्म अनुदान लिइरहेका उत्पादकहरू अहिले पनि छन्”, उनले भने । फुटवेयर उद्योगको उत्पादन बढाउने र निर्यातमार्फत् अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने क्षेत्र रहे पनि अनेकौँ समस्या यो क्षेत्रले खेप्नु परेको उनको भनाइ छ । “आन्तरिक बजार समस्यामा पर्नुको मुख्य कारण चोरी पैठारी हो । दक्ष कामदार छैनन् । फुटवेयरसँग सम्बन्धित पाठ्यक्रम छैन ।

हाम्रो समाजले नै जुत्ताचप्पल व्यवसायलाई सम्मानित पेसाका रूपमा लिएको देखिँदैन । बाहुन क्षेत्रीले जुत्ता बनाएको वा बेचेको भनेर सामाजिक प्रतिष्ठासँग जोडिन्छ”, अध्यक्ष घिमिरेले भने । भन्सार विभाग र आन्तरिक राजस्व विभागले सीमा नाकामा कडाइ गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउन सके चोरी पैठारी रोकिने उनको भनाइ छ । अहिले राजधानीको भृकुटीमण्डपमा १६ औँ अन्तर्राष्टिय फुटवेयर औद्योगिक प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा स्वदेशी जुत्ताचप्पल व्यवसायसँग सम्बन्धित उद्योगी, थोक तथा खुद्रा बिक्रेता सहभागी छन् । शुक्रबार आफ्नो कम्पनी युनाइटेड फुटवेयर इन्ड्रस्टिजको स्टलमा भेटिएका सदाब अख्तर अहिले जुत्ता चप्पलको कच्चा पदार्थ उत्पादनमा पनि नेपाल आत्मनिर्भरको बाटोमा रहेको बताउछन् ।

“हामीले विगत २५ वर्षदेखि नेपालमा छाला उत्पादन गर्दै आएका थियौँ । छालाका जुत्ता चप्पल बनाउनका लागि नेपालमै गुणस्तरीय र पर्याप्त कच्चा पदार्थ उत्पादन भइरहेको छ”, अख्तरले भने । विदेशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा जुत्ता चप्पल बनाउँदा त्यसमा हुने मूल्य अभिवृद्धि ५० प्रतिशतसम्म छ ।

“अहिले नेपालमा उत्पादन हुने जुत्ताचप्पलको ४० देखि ५० प्रतिशत कच्चापदार्थ नेपालभित्रै उत्पादन हुन्छ । विदेशबाट कच्चा पदार्थ ल्याउने र त्यसलाई फाइनल प्रोडक्ट बनाउने हो भने ५० देखि ६० प्रतिशतसम्म मूल्य अभिवृद्धि (भ्यालु एड) हुन्छ”, जुत्ता उत्पादक सङ्घका अध्यक्ष घिमिरेले भने ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको तथ्याङ्कअनुसार हाल नेपालमा बिक्री हुने जुत्ताचप्पलजन्य सामानमध्ये करिब ५० प्रतिशत नेपालभित्रकै उत्पादन हो । अर्थात् अहिले नेपालमा बिक्री हुने जुत्ताचप्पलमध्ये स्वदेशमै उत्पादित र आयातितको हिस्सा समान छ ।

नेपालभरका डिलर, थोक, खुद्रा व्यवसायीमार्फत बिक्रीवितरण बढाएर त्यसलाई ७५ प्रतिशतसम्म पुर्याउने लक्ष्य राखिएको एसोशिएसनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै