काठमाडौँ । धरानमा सूर्य नेपाल इस्टर्न ओपनको आयोजना हुने भएको छ । सूर्य नेपाल गल्फ टुर २०२२-२३ को दोस्रो कार्यक्रम अन्तर्गत डिसेम्बर २७ , २०२२ मा धरान गल्फ क्लब, धरानमा इस्टर्न ओपन हुने भएको हो ।
कार्यक्रमको प्रायोजन सूर्य नेपालले गरेको छ । यो प्रतियोगिता तीन दिनसम्म ५४ होलमा खेलिनेछ जसमा कुल ८ लाख रकम पुरस्कारको रुपमा खर्च हुने भएको आयोजकले जनाएका छन् ।
विजेताले कुल १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुनेलाई ६७ हजार नगद दिइने आयोजकले जानकारी दिएका छन् भने शीर्ष २१ मा रहेका अन्यले पनि नगद पुरस्कार पाउने छन् ।
शुक्रबार, डिसेम्बर ३० मा प्रो-एम कार्यक्रममा एमेच्योर गल्फरहरूले पेशेवरहरूसँग मिलेर प्रतियोगिताको समापन हुनेछ ।
व्यावसायिक खेलाडीहरु शुक्रबहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, मणि राई सञ्जय लामा, धन थापा प्रमुख दावेदार रहेका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२२-२३ मा आठ टूर्नामेन्टहरू छन्, जसमा कुल ६१ लाख ८५ हजार बजेट छुट्याइएको जानकारी दिइएको छ ।