• २०८१ बैशाख १८ मंगलबार

महाकालीको अनधिकृत संरचनाबारे सरकारले भारतलाई पठायो कुटनीतिक नोट

kharibot

काठमाडौँ । नेपाल सरकारले भारतलाई महाकालीमा गरिएको निर्माणका विषयमा कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको परराष्ट्र स्रोतले खरीबोटलाई जानकारी दिएको हो ।

भारतलाई पठाएको कूटनीतिक नोटमा नेपालको सहमतिबिना संरचना बनाइएको र सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ ।

यसअघि सोमबार गृह मन्त्रालयले यस सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई भारतले बनाएको संरचनाका बारेमा विस्तृत रिपोर्ट पठाएको थियो ।

सोहि रिपोर्टको आधारमा परराष्ट्रले मंगलबार कुटनीतिक नोट पठाएको हो ।

यस विषयमा आइतबार दुवै पक्षबीच ढुंगा हानाहान समेत भएको थियो । सो झडपपछि सोमबार दुई देशका अधिकारीबीच छलफल समेत भएको थियो । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच जिल्ला प्रशासन कार्यालय दार्चुलामा सोमबार छलफल भएको हो ।

आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो । ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए । सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए ।

सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । छलफलमा दार्चुलाका प्रअजिअ उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरेका थिए । 

छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको सहायक प्रजिअ हेमन्ती साउदले बताए । भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो । 

भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटर यता नेपाल तिर ग्याविन जाली लगाएको छ । सो ग्याविन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई प्रजिअले आग्रह गरेका थिए । भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ ।

नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । स्थानीयवासीले तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राखेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय