• २०८१ बैशाख १७ सोमबार

शङ्खमूल पुलमुनिबाट चार मेट्रिकटन फोहर व्यवस्थापन

kharibot

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासाथ प्रत्येक हप्ता आज भइरहेको वाग्मती सफाइ महाअभियान आजदेखि चारसय ८८औँ हप्तामा प्रवेश गरेको छ ।

शङ्खमूल पुलमा भएको सफाइबाट नकुहिने चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, लायन्स क्लबका पूर्वगभर्नर सुष्मा शर्मालगायत अभियानकर्मीको सहभागिता थियो । काठमाडौँ फरेस्ट कलेज, वाग्मती फोहर उन्मूलन उपभोक्ता सङ्घ, लायन्स क्लब अफ सिद्धार्थ गौतमबुद्ध, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासी, नागरिक सहयोग सञ्जाल, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, मेची महाकाली सफाइ अभियान एवं वाग्मती अभियानकर्मीको सक्रियतामा वाग्मती नदीभित्र र किनार क्षेत्रमा सफाइ गरिएको हो ।

लायन्स क्लबका पूर्वगभर्नर सुष्मा शर्माको पहलमा विभिन्न लायन्स क्लबबाट वाग्मती सफाइ महाअभियानलाई नदीभित्र लगाउन मिल्ने बुट, मास्क, पञ्जा, झाडु  हस्तान्तरण गरिएको थियो । महाअभियानका तर्फबाट अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्षले सामग्री बुझेका थिए ।

सफाइका लागि अधिकार सम्पन्न वाग्मती समितिले आवश्यक सामग्रीको व्यवस्थापन गर्दै आएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको आज बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर एक सय नौ भन्दाबढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ । यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ ।

ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै