• २०८१ बैशाख २२ शनिबार

भारतका अदानी बने विश्वको दोस्रो धनि

kharibot

काठमाडौँ । भारतीय अर्बपति गौतम अडानी १५४.७ बिलियन डलरको सम्पत्तिका साथ विश्वको दोस्रो धनी व्यापारी बनेका छन् । फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूची अनुसार गौतम अडानीले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । फोर्ब्सको अर्बपति सूचकांकको शीर्ष २ मा एसियाली व्यक्ति प्रवेश गरेको यो पहिलो पटक हो ।

अब गौतम अडानी वरियतामा एलोन मस्कभन्दा पछि छन् । टेस्लाका संस्थापक एलोन मस्क २७३.५ बिलियन डलरको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । बर्नार्ड अर्नाल्ट १५३.८ बिलियन डलरको कुल सम्पत्तिका साथ तेस्रो र जेफ बेजोस ११.९५ लाख करोड (१४९.७ बिलियन डलर) को कुल सम्पत्तिको साथ सूचीमा चौथो स्थानमा छन्।

एशियाको सबैभन्दा धनी व्यक्ति अदानी बाहेक, रिलायन्सका अध्यक्ष मुकेश अम्बानी फोर्ब्सको शीर्ष १० सूचीमा समावेश हुने दोस्रो भारतीय हुन् । मुकेश अम्बानी ९२.१ बिलियन डलरको कुल सम्पत्तिको साथ विश्वको आठौं धनी व्यक्ति हुन् ।

१७ दिनअघि अदानी विश्वको तेस्रो धनी व्यापारी बनेका थिए । अडानीले २०२२ मा मात्रै आफ्नो कुल सम्पत्तिमा ७८.२ बिलियन डलर थपेका छन् । यो कुनै पनि व्यापारीको भन्दा ५ गुणा बढी हो । उनले पहिलो पटक रिलायन्सका अध्यक्ष मुकेश अम्बानीलाई फेब्रुअरीमा सबैभन्दा धनी एशियालीको रूपमा उछिनेका थिए।

अदानी अप्रिल ४ मा सेन्टीबिलियनियर्स क्लबमा सामेल भएका थिए । १०० बिलियन डलर भन्दा बढीको नेटवर्थ भएका मानिसहरूलाई सेन्टिबिलियनर भनिन्छ। एक वर्ष पहिले, अप्रिल २०२१ मा, अडानीको कुल सम्पत्ति ५७ बिलियन डलर थियो । आर्थिक वर्ष २०२१-२०२२ मा अदानीको कुल सम्पत्ति विश्वमा सबैभन्दा छिटो बढ्यो । अदानी समूहका सात सार्वजनिक सूचीकृत कम्पनी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै