• २०८१ बैशाख २७ बिहीबार

रोनाल्डोलाई मात्र निशाना बनाउनु गलत- प्रशिक्षक ह्याग

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले क्रिस्टियानो रोनाल्डोलाई मात्र निशाना बनाउनु ठिक नभएको बताएका छन् ।

डच टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा ह्यागले रायो भल्लेकानोविरुद्धको खेल नसकिदै मैदान छोडेको विषयमा रोनाल्डोको मात्र आलोचना गर्नु ठिक नभएको बताएका हुन् ।

उनले यस अघि रोनाल्डो खेल जारी रहेको बेला मैदान छोडेको विषय अस्वीकार्य रहेको बताएका थिए ।

ह्यागले भनेका छन्- ' मैले यस विषयलाई राम्रो सँग उठाएको छु । त्यस दिन रोनाल्डो बाहेक अन्य धेरै खेलाडीले खेल सकिनु अघि मैदान छोडेका थिए । यस विषयमा रोनाल्डोलाई मात्र निशाना बनाउनु गलत हुन्छ ।'

प्रशिक्षक ह्यागले अब यो विषयबाट अगाडी बढ्नु पर्ने बताए ।

रोनाल्डोले युनाइटेड छोड्ने विषय जारी रहेका बेला अहिले नयाँ सिजनको पहिलो खेलका लागि प्रशिक्षणमा रहेका छन् । प्रशिक्षक ह्याग प्रि-सिजन गुमाएको भएर पुर्णरुपमा खेलका लागि तयार नभएको भन्दै रोनाल्डोलाई पहिलो खेलमा बेन्चमा राख्ने रिपोर्ट बाहिर आएको थियो । तर युनाइटेडका स्ट्राइकर एन्टोनी मार्सियल घाइते भएर पहिलो खेल नखेल्ने भएपछि रोनाल्डोले पहिलो खेल खेल्ने सम्भावना बढेको बताइएको छ ।

यस विषयमा प्रशिक्षक ह्यागले आफुले आइतबार नै यस विषयमा निर्णय गर्ने बताएका छन् । उनले भनेका छन्- म मेरो टिमसँग पुर्णरुपमा सन्तुष्ट छु । हामीसँग उत्कृष्ट स्ट्राइकर छन् । हामि हाम्रो गेम प्लान अनुसार नै खेल्छौं ।'

रोनाल्डोलाई ब्राइटनविरुद्ध खेलाउने विषयमा उनले भने- 'यस बारेमा आइतबार नै निर्णय लिने छौं । हामीसँग यसको समाधान छ, हामीले समाधान गर्ने छौं ।'

प्रिमियर लिगको सिजन शुरु हुन लागेपनि रोनाल्डोले आफ्नो नयाँ क्लब भेटाउन नसकेपछि थप अन्योल बढेको छ ।  म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो खेलमा आइतबार ब्राइटनविरुद्ध खेल्दै छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै