• २०७९ श्रावण २८ शनिबार

सप्तकोसी नदी बस्तीमा, उद्धार कार्य जारी

kharibot

उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेसँगै जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ । 

बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् । 

तीव्र रुपमा बाँध कटान गर्दै कोसी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीसहित संयुक्त रुपमा प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सार्ने कार्यमा खटिएका छन् । 

७० मिटरभन्दा बढी बाँध कटान गरेर कोसी बस्ती पसेको छ । नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

 बेलका नगरपालिका– ८ लाहेर खोच डुम्रिबोटेस्थित नदिले कटान गरि गाउँ पसेको हो ।  नदी तटीय क्षेत्रका स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् ।

कोसी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरुको गुनासो छ ।

सप्तकोसीले धार परिर्वतन गरी पश्चिमतर्फ कटान गरेपछि  बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् । उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा सप्तकोशी  नदी फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् । 

पढ्नै पर्ने

लोकप्रिय