काठमाडौँ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन आग्रह गरेको छ ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्कमा वृद्धि गरिएको भन्दै नाडाले कर घटाउन आग्रह गरेको हो ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा नाडाका अध्यक्ष धुव्रबहादुर थापाले विद्युतीय सवारीसाधनमा पुरानै कर लागु हुनुपर्नेमा जोड दिए ।
‘सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने भन्दै आएको छ, तर आगामी आर्थिक वर्षको बजेटमा भन्सार र अन्तशुल्क कर बढाइएको छ, सरकारको भनाइ र गराइ फरक भयो’, उनले भने । उनले १०० किलोवाट क्षमताभन्दा तलका विद्युतीय सवारीसाधनमा पुरानै कर लागू गरिएकामा स्वागत गर्दै २०० किलोवाट क्षमताका विद्युतीय सवारीसाधनमा पुरानै व्यवस्था अनुसार भन्सार र अन्तशुल्क कायम गर्न आग्रह गरे ।
यस्तै, नाडाले विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै असार मसान्तसम्म सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउनसमेत आग्रह गरेको छ ।
विदेशी मुद्राको सञ्चिति र शोधनान्तर स्थितिमा सवारी आयातले खासै असर पार्ने नदेखिएको भन्दै नाडाले आयातप्रतिबन्धको सहज समाधानका लागि सरकारसँग अपिल गरेको छ ।
अध्यक्ष थापाले नयाँ सवारी साधनमा मात्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेमा जोड दिए ।
सवारीसाधन खरिदपछि सामान्य नम्बर राखेर पुनःइम्बोस्ड नम्बर प्लेट जडान गर्दा उपभोक्तामा दोहोरो खर्च हुने भन्दै उनले नयाँ सवारीसाधनलाई अनिवार्य गर्न आग्रह गरे ।
यस्तै अभिक ज्योतिले सरकारको नीतिका कारण दुई पाङ्ग्रे सवारीसाधनको बिक्रीवितरण नै बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
उनले २०० सिसी माथिका दुईपाङ्ग्रे सवारीसाधनलाई सरकारले विलासिताको वस्तुमा राखेर आयात रोक्दा तथा भन्सार र अन्तशुल्क दर बढाउँदा बिक्रीवितरण बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा २०० सिसी माथिका सवारीसाधनमा बढाइएको कर तत्काल फिर्ता हुनुपर्ने ज्योतिले जोड दिए ।
कति बढ्यो कर
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा दुई पाङ्ग्रे र विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्क महसुलमा वृद्धि भएको घोषणा गरेका थिए ।
यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले २०० सिसी माथिका दुई पाङ्ग्रे सवारीसाधन र १०० किलोवाट क्षमताभन्दा माथिका विद्युतीय गाडीको भन्सार तथा अन्त शुल्क वृद्धि भएको बताएका थिए । सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएको छ ।
यस्तै २०० देखि ३०० किलोवाटभन्दा बढीमा ४५ प्रतिशत, ३०० किलोवाटभन्दा बढीको कार, जीप र भ्यानमा ६० प्रतिशत अन्तशुल्क लगाइएको छ ।
यस अघि विद्युतीय सवारीसाधन आयात गर्दा अन्तशुल्कमा पूर्ण छुट दिएको थियो । यस्तै, बजेटमार्फत १०० किलोवाटदेखि २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखि ३०० किलोवाट सम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीमा ६० प्रतिशतले भन्सार कर वृद्धि गरिएको छ ।
हाल १०० किलोवाट क्षमताको विद्युतीय सवारी साधनमा १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार शुल्क थियो ।
यस्तैगरी, २०० देखि २५० सिसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महसुल लगाइने भएको छ । यसअघि ३० प्रतिशतमात्रै भन्सार महसुल लाग्ने गरेको थियो ।
२५० देखि ५०० सिसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटरसाइकलमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ । दुई पाङ्ग्रेमा ३० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था थियो ।
यस्तै २०० सीसी माथिका मोटरसाइकलमा अन्तशुल्क बढाइएको छ । २०० सिसीदेखि २५० सिसी नाघेको मोटरसाइकलमा ८० प्रतिशत छ ।
हाल २०० देखि २५० सिसी ननाघेको मोटरसाइकलमा ६० प्रतिशत अन्तः शुल्क लाग्ने गरेको थियो । २५० देखि ५०० सिसीसम्मका ९० प्रतिशत र ५०० सिसीदेखि माथिकामा १०० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ । अहिले २५० देखि ५०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ ।
५०० देखि ८०० सिसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत र ८०० सिसी माथिका गाडीमा १०० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ ।