• २०८१ बैशाख ३१ सोमबार

लाटोकोसेरोसहित २ भारतीय पर्साबाट पक्राउ

kharibot

वीरगञ्ज । पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ  ।

पक्राउ पर्नेमा  भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय  मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ का ३५ वर्षीय शेख अनवर रहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा  लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

लाटोकोसेरोलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई वन्यजन्तु सरंक्षण ऐनसम्बन्धी कसूर मुद्दा अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।  

हत्या अभियोगमा एक पक्राउ

प्रहरीले २३ वर्षीय युवकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पर्साको ठोरी गाउँपालिका– ५ ठूलो बाघमोर्चा बस्ने वर्ष २३ का प्रवीण पाख्रिनको हत्या आरोपमा १७ वर्षीय एक युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

पक्राउ गरिएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । हालसम्मको अनुसन्धानबाट खुलेका अन्य तीन फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको हो ।

गत जेठ ६ गते ठोरी गाउँपालिका– ५  बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिले ढुङ्गाले टाउँको र अनुहार समेतमा प्रहार गरी बेहोस् भएका पाख्रिनको वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारका क्रममा आइताबार मत्यु भएको थियो  । 

बन्दुकसहित पक्राउ

पर्सा प्रहरीको टोलीले १२ बोरको एक नाले घरेलु बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सूचनाका आधारमा पर्सागढी नगरपालिका– ९ बस्ने वर्ष २७ का मनोज भन्ने शिवु माझी मुसहरलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। 

बन्दुक बोकी बडेर्वाबाट तेलिया टोलतर्फ जाँदै गरेको भन्ने सूचना प्राप्त भएपछि खोजतलास तथा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय एकटाँगा र अस्थायी प्रहरी पोष्ट मनवाबाट संयुक्त टोलीले तेलिया टोल जाने सडकखण्डबाट मुसहरलाई पक्राउ गरेको थियो  । 

प्रहरी टोलीलाई देख्नासाथ भाग्ने खोजेका थिए । तर प्रहरीले सक्रियता देखाउँदै १२ बोरको १ नाले घरेलु बन्दुकसहित मुसहरलाई पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ परेको मुसहरलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

गाँजा बरामद

सशस्त्र प्रहरीको टोलीले बाराको पचरौतना नगरपालिका–९ बलधुसुवाबाट  करिब ६४ किलो प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।

बारास्थित सशस्त्र प्रहरी बल नेपाल नं १२ गणका अनुसार प्याकिङ गरी कार्टुनमा तयार गरी राखिएको उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।

प्याकिङ गरी टाउकोमा बोकी लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फालेर चारजना मानिस फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गाँजा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाउने तयारी  भइरहेको  छ ।
 
२० लाख मूल्य बराबरको सामान बरामद

भन्सार छलि ल्याएको करिब रु २० लाख मूल्य बराबरका विभिन्न किसिमका लत्ताकपडा लोड गरिएको सवारीसाधन प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको सामग्री तथा सवारीसाधनलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएकोे प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

वीरगञ्ज महानगरपालिका–७ रामटोल नजिकै रेल्वेरोडबाट बा २० च ७८६४ नं को पिकअप गाडीलाई कपडाजन्य सामाग्रीसहित प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै