• २०८१ बैशाख २१ शुक्रबार

स्थानीय तह निर्वाचनमा अपांगता भएका व्यक्तिप्रति भएको भेदभावप्रति आपत्ति

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । अपांगता भएका व्यक्तिप्रति शुक्रबार सम्पन्न स्थानीय तह\को निर्वाचनमा भएको भेदभावप्रति अपांगता क्षेत्रका सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।  शनिबार एक विज्ञप्ति जारी गर्दै सरोकारवालाहरुले संबिधानले दिएको अधिकारप्रति  निर्वाचन आयोग र सो मातहतका निर्वाचन कार्यालयहरूले वेवास्ता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित आदर्श माविको मतदान केन्द्रमा ह्विलचेयर प्रयोगकर्ता अपांगता भएका नागरिकहरूलाई व्हीलचेयर मतदान केन्द्रभित्र लान नदिइ हिलोमा घस्रिएर मतदान गर्न जानुपर्ने अवस्था सिर्जना गरिनु भनेको घोर अमानवीयताको परकाष्टा हो नै यो कानुनी रुपमा समेत दण्डनीय भएको बताउदै देशका अन्य निर्वाचन केन्द्रहरु पनि अपायक बनाउने, अपांगता भएका व्यक्तिको पहुँचविहीन बनाइ निर्वाचनको अधिकारबाट बञ्चित गरिएको उल्लेह गरिएको छ ।

सरोकारवालाहरुको विज्ञप्ति: 

नेपालको संविधान २०७२ले सबै अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक प्रदान गरेको छ भने सामान्य कानूनको प्रयोगमा शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्न नपाइने प्रष्ट व्यवस्था गरेको छ । अपांगता भएका नागरिकहरूले पनि सामान्य नागरिक सरह निर्वाचनमा सहभागी हुन पाउने, प्रतिनिधि चयन गर्न पाउने संविधानले व्यवस्था गरेको छ । संविधानको धारा, ८४ उपधारा (३), धारा ८६ उपाधरा २ (क) र धारा १७६ को उपधारा ७  (६) मा राजनीतिक दलले उम्मेदवारी दिँदा अपांगता भएको व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने व्यवस्था छ । यसलाई अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ ले कानुनी रुपमा सुरक्षित गरेको छ ।

यसरी अपांगता भएका व्यक्तिको सहभागिता र समावेशिताको विषयमा संविधानले नै स्पष्ट व्यवस्था गरेको अवस्थामा निर्वाचन आयोग र सो मातहतका निर्वाचन कार्यालयहरूले स्थानीय तहको निर्वाचनमा अपांगता भएका व्यक्तिप्रति गरेको विभेद, दुर्व्यवहार र सहभागिताबाट बञ्चित गराउने वातावरणको अवस्था सिर्जना गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित आदर्श माविको मतदान केन्द्रमा ह्विलचेयर प्रयोगकर्ता अपांगता भएका नागरिकहरूलाई व्हीलचेयर मतदान केन्द्रभित्र लान नदिइ हिलोमा घस्रिएर मतदान गर्न जानुपर्ने अवस्था सिर्जना गरिनु भनेको घोर अमानवीयताको परकाष्टा हो नै यो कानुनी रुपमा समेत दण्डनीय हो । यसबाहेक देशका अन्य निर्वाचन केन्द्रहरु पनि अपायक बनाउने, अपांगता भएका व्यक्तिको पहुँचविहीन बनाइ निर्वाचनको अधिकारबाट बञ्चित गरिएको छ ।

निर्वाचन केन्द्रहरू अपांगतामैत्री बनाउन व्यवस्था नगर्ने, निर्वाचनका प्रचार र अन्य सामाग्री अपांगतामैत्री नबनाइ यस्ता घटनालाई प्रोत्साहित र संरक्षित गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू र विभेदमा प्रत्यक्ष संलग्न बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारी, जिल्ला निर्वाचन कार्यालय प्रमुख रमा पन्त, स्थानीय सुरक्षा अधिकारीसहितका जिम्मेवार व्यक्तिहरूलाई मुलुकी ऐन देवानी संहिता २०७४ को दफा १८ को विभेदको अपराध र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ को दफा ७३ को घृणा, हेला र तिरस्कारको अपराधमा कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं ।

यो गम्भीर मानव अधिकारको घटनाप्रति हामी राष्ट्रिय मानव अधिकार आयोग, समावेशी आयोगसहित अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी निकायहरूको पनि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं र भविष्य हुने कुनै पनि निर्वाचनहरूमा यस्ता विभेद नदोहोरिने, अपांगता भएका व्यक्तिको सहज सहभागिताका लागि आवश्यक पूर्वाधार तयार पार्न र उचित व्यवस्था तत्कालै मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं । यदि यस घटनाप्रति सार्वजनिक रुपमा निर्वाचन आयोगले तत्काल माफी माग्ने, स्थानीय निर्वाचन अधिकृतमाथि कारबाही गर्ने प्रक्रिया नथालेमा हामी कानुनी उपचारमा जाने र आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने छौं ।

अपांगता क्षेत्रका सरोकारवालाहरूका तर्फबाट

राजु बस्नेत- महासचिव राष्ट्रिय अपांग महासंघ/ अध्यक्ष बौद्धिक अपांग महासंघ
गजेन्द्रसिंह बुढाथोकी- संयोजक व्हीलचेयर मुभमेन्ट नेपाल/पूर्व सदस्य नेपाल सरकार, उच्चस्तरीय अपांगता मामिला संयन्त्र
भोजराज श्रेष्ठ- अध्यक्ष स्वाबलम्बन जीवन पद्धति केन्द्र (सीआइएल) ललितपुर/पूर्व सदस्य नेपाल सरकार, उच्चस्तरीय अपांगता मामिला संयन्त्र
ऋषिराम ढकाल- अध्यक्ष स्पाइनल कर्ड इन्जरी नेटवर्क
नाम्ग्याल शेर्पा- कोषाध्यक्ष, नेपाल अपांग संघ
बालकृष्ण श्रेष्ठ- अपाङ्ग समाज चितवन
सिन्धुली अपाङ्ग महिला संघ
अपांग संरक्षण समाज लमजुङ
विश्वास नेपाल संस्था
अपाङ्ग सेवा संघ दाङ तुलसिपुर
नेत्रहीन युवा संघ रुपन्देही
उद्यमशील तथा सीप विकास अपाङ्ग संघ,नुवाकोट
अपाङ्गता जीवन साथी संस्था "दीप" म्याग्दे गाउपालिका तनहुँ
अपाङ्गता महिला संघ -रूपन्देही
सुस्त मनस्थिति अभिभावक संघ, नेपालगंज
विकास र सहकार्यको लागी बहिरा मञ्च नेपाल
स्वतन्त्र बिकास समाज - नेपाल रुपन्देही
रुपन्देही नेत्रहीन संघ बुटवल
हाम्रो बाह्रदशी अपाङ्गता अभियान, प्रदेश नं १ बाह्रदशी झापा
अपाङ्ग मानवअधिकार मन्च नुवाकोट
जागृति अपाङ्ग संघ ईलाम

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै