• २०८१ बैशाख २० बिहीबार

बिपी राजमार्ग सञ्चालन- चौध प्रहरी घाइते

kharibot

सिन्धुली । बिहानैदेखि अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ ।

स्थानीय ३९ वर्षीय विजय मुक्तानको मृत्युका विषयलाई लिएर आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । 

मङ्गलबार कमलामाई नगरपालिका–२ निवासी विजयलाई निबुवाटारमा प्रदेश ३–०१–०३६ प १४१९ नम्बरको बोलेरोले ठक्कर दिएको थियो ।

घाइते भएका विजयलाई सिन्धुली अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कडेलले जानकारी दिए ।

प्रहरीले मृतकका आफन्तलाई छलफलमा आउन आग्रह गरेकामा छलफलमा नआई बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङमा राजमार्ग अवरुद्ध गरेपछि घटनास्थलमा गएको प्रहरी टोलीलाई स्थानीयले आक्रमण गरेको उनले बताए । स्थानीयको आक्रमणबाट १४ जना प्रहरी घाइते भएका छन् ।

घाइतेमध्ये एक जनालाई प्रहरी अस्पताल काठमाडौँमा पठाइएको र ११ जना उपचारपछि घर पर्किएका छन् भने दुई जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिए ।

स्थानीयको ढुङ्गा, सिसाका बोतल प्रहारबाट वरिष्ठ प्रहरी हवल्दार विजयकुमार यादव, प्रहरी जवान जोसना श्रेष्ठ, लीला खत्री, कर्णबहादुर मुग्राती, घनश्याम चौधरी, रमेश लामा र गोपाल थारु घाइते भएका छन् ।

यस्तै प्रहरी हबल्दार भोला राउत, निजामुदी मिह, प्रहरी जवान विमला श्रेष्ठ, सञ्जित श्रेष्ठ, भूपेन्द्र रावत, रामनारायण राउत र ईश्वरकुमार बास्तोला घाइते हुनुभएको छ ।

घाइतेमध्ये जोसना श्रेष्ठको उपचारका लागि प्रहरी अस्पताल काठमाडौँ पठाइएको र अरु १० जना डिस्चार्ज भएको प्रहरी उपरीक्षक कडेलले जानकारी दिए । 

अस्पतालमा भूपेन्द्र रावत, रामनारायण राउत र ईश्वरकुमार बास्तोलाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य नै रहेकाले केही समयपछि घर पठाइएको जानकारी दिए ।

घाइतेको टाउको, कुम र खुट्टामा सिसाका बोतलले काटेको चोट लागेको छ । प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गरेको थियो । प्रहरीको संयमताले घटनामा मानवीय क्षति भने हुन पाएन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै