• २०८३ असोज ५ सोमबार

पाकिस्तानमा इमरान खानका सहयोगीहरुलाई विदेश जान रोक

पाकिस्तानमा इमरान खानका सहयोगीहरुलाई विदेश जान रोक

काठमाडौँ । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले इमरान खानका पूर्व सल्लाहकार र मुख्य सचिव जस्ता अधिकारीहरूलाइ विदेश जान रोक लगाएको छ । खानका विशेष सहयोगी शाहबाज गिल र शहजाद अकबरसहितका सहयोगीलाई 'स्टप लिस्ट' राखेर विदेश जान रोक लगाइएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।

यसबाहेक पूर्व मुख्य सचिव आजम खान, पीटीआईका सामाजिक सञ्जाल प्रमुख अर्सलान खालिद र मोहम्मद रिजवानको नाम पनि नो फ्लाई लिस्टमा समावेश छ । पञ्जाबका महानिर्देशक गौहर नफीसको नाम पनि सूचीमा छ । शनिबार इमरान खानको सरकार पतन भएपछि यो कारबाही गरिएको हो ।

एग्जिट कन्ट्रोल लिस्ट (ईसीएल) मा कसैको नाम राख्न बढी समय लाग्ने भएकाले छोटो समयमै देश छोड्न नपाउने गरी एफआईएले सन् २००३ मा स्टप लिस्ट ल्याएको थियो ।

पाकिस्तानमा आज अर्को प्रधानमन्त्रीको निर्वाचन हुँदैछ र पीएमएल-एनका शाहबाज शरीफ प्रधानमन्त्री बन्ने लगभग निश्चित छ ।

यसअघि शनिबार अबेर राति नेशनल एसेम्बलीमा इमरान खान सरकारविरुद्धको अविश्वास प्रस्तावमा मतदान भएको थियो, जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेपछि खानको सरकार पतन भएको थियो ।

पाकिस्तानको इतिहासमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो पटक हो ।

नयाँ प्रधानमन्त्रीले आगामी निर्वाचनसम्म अर्थात् अक्टोबर २०२३ सम्म पद रहने छन् ।

पाकिस्तान क्रिकेट टोलीका पुर्व कप्तान रहेका इमरान खान सन् २०१८ मा देशको प्रधानमन्त्री बनेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै